विकासन्युजको समाचारमा संगीता श्रेष्ठको खण्डन

काठमाडौं । विकास मिडियाद्वार सञ्चालित विकासन्युज डटकममा मिति २०८३ असोज ७ गते प्रकाशित ‘वर्षौंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक’ र असोज ९ गते प्रकाशित ‘८ वर्षपछि वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको सरुवा’ शीर्षकका समाचारहरूप्रति वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन पठाएकी छन् । 

श्रेष्ठले पठाएको खण्डनअनुसार समाचारमा प्रयोग गरिएको आफ्नो तस्बिर बिना अनुमति सार्वजनिक गरिएको र आफू ८ वर्षदेखि नभई २०७८ साल पुस ११ गतेको निर्णयानुसार वीर अस्पतालमा पदस्थापन भएको दाबी गरेकी छन् । 

उनका अनुसार नवौं, दसौं र ११ औं तह गरी वीर अस्पतालमा आफ्नो जम्मा कार्यकाल ४ वर्ष ९ महिना मात्र रहेको र यस समाचारले आफ्नो मानहानि भएको उल्लेख गरेकी छन् । 

श्रेष्ठद्वारा प्राप्त खण्डन पत्रमा आफ्नो कुनै लिखित वा मौखिक अनुमति बिना तस्बिर सार्वजनिक गरिएको, २०७६ सालमा ११ औं तहमा बढुवा भएपछि नभई वि.सं. २०७८/०९/११ को निर्णयानुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट वीर अस्पतालमा पदस्थापन भएको, मन्त्रालयले खटाएको ठाउँमा दिएको जिम्मेवारी पूरा गर्दा के गल्ती भयो र कसरी मानहानि भयो र ११ औं तह हुनुअघि नवौं तहमा २ महिना, दशौं तहमा २ महिना तथा ११औं तहपछि जम्मा ४ वर्ष ९ महिना वीर अस्पतालमा काम गरेको उल्लेख गरेकी छन् । 

सार्वजनिक पद र जिम्मेवारीमा रहेका व्यक्तिहरूसँग सम्बन्धित विषयहरू सार्वजनिक चासोको क्षेत्रभित्र पर्ने भएकाले समाचारमा तस्बिर प्रयोग गरिएको विकासन्युजको ठहर छ । साथै, समाचारमा उल्लेख गरिएका तथ्याङ्क तथा विवरणहरू आधिकारिक एवं मन्त्रालय स्रोतबाट प्राप्त सूचनाका आधारमा तयार पारिएको जानकारी गराउँदै हामी हाम्रा समाचार स्रोत र प्राप्त तथ्यहरूप्रति पूर्ण रूपमा विश्वस्त भएको दाबी गर्दछौं । 

विकासन्युज डटकमले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको मूल्य–मान्यतालाई मध्यनजर गर्दै प्राप्त खण्डनलाई जस्ताको तस्तै स्थान दिएका छौं । 

null
 

Share News