काठमाडौं । मध्यान्हको १२ बज्यो । उनी होल्डिङ सेन्टरको दायाँपट्टि उभिएका छन् । मानिसहरूको आवतजावत चलिरहेको छ । होल्डिङ सेन्टरमा आउने-जाने गफिइरहेका छन् । रसुवामा गत भदौ १० गते आएको बाढीले धेरै जनधनको क्षति गर्यो । क्षति मात्र गरेन बस्ती उजाड बनायो । मानिस एक्ला भए । भएका धनसम्पत्ति बगे ।
भोटेकोशीमा आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिका-१ का ५० जना बालबालिकाको जीवनमा रिक्तता छाएको छ । उनीहरुलाई नुवाकोटको विदुर नगरपालिका-२ स्थित अन्नपूर्ण आदर्श विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरू कसैका आमा छैनन्, कसैका बाबु छैनन् । पूर्ण रुपमा अभिभावक विहीन भएका छन् ।
यही पीडाको बीचमा उनीहरूको हेरचाह, बसोबास र भविष्यको चिन्ता बोकेर खटिएका छन्- नुवाकोटको विदुर नगरपालिका-२ का वडा सदस्य रञ्जन थापा मगर । होल्डिङ सेन्टरका बालबालिकालाई आफ्नै छोराछोरी सरह उनले हेरचाह गरिरहेका छन् ।
एउटा जनप्रतिनिधिको औपचारिक जिम्मेवारीभन्दा धेरै गहिरो मानवीय संवेदना उनमा लुकेको छ । विपत्तिमा साथ र सहारा बन्न पाउनु पनि ठूलो भाग्य बनेको उनी बताउँछन् ।
बाढीपछि प्रभावित बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । धेरै बालबालिकाहरू केहीका आफन्तकामा गएका छन् । अभिभावक नभएका बालबालिकालाई थापामगरले अभिभावकको भावना महसुस गराइरहेका छन् ।
'बालबालिकाहरूले पढ्न नपाएको र बाबुआमा नभएकाले अभिभावकत्वको अभाव भएको कुरा गरिरहेका छन्,' थापा मगर बताउँछन्, 'बालबालिकाको भावना बुझ्दा र बोली सुन्दा यस्तो विपत्ति नेपालमा कहिले नदोहरियोस् ।'
बालबालिकाको इच्छा बुझेर कसरी पढाइलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उनी बताउँछन् । पढ्न चाहने बालबालिकालाई आवश्यक व्यवस्था मिलाएर विद्यालय पठाउने पहल भइरहेको उनले सुनाए ।
आफ्ना अभिभावक गुमाएका बालबालिकाको भविष्य केवल राहत सामग्री दिएर सुरक्षित हुँदैन भन्ने कुरालाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
बाबुआमा गुमाएका बालबालिकाको मनस्थितिबारे कुरा गर्दा थापा मगर भावुक सुनिन्छन् । उनका अनुसार सुरुका दिनमा उनीहरू त्यहाँ बस्न नचाहने, रुने-कराउने र असहज महसुस गर्ने गर्थे । आफ्ना अभिभावकको अनुपस्थितिलाई स्वीकार गर्न उनीहरूलाई सहज थिएन । समयसँगै उनीहरूलाई नियमित दिनचर्यामा फर्काउने प्रयास भइरहेको छ ।
बालबालिकाहरू बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको थापा मगरले बताए । उनीहरूको गतिविधि पढाइ र दैनिक गतिविधिमा सहभागी भइरहेको छ ।
बालबालिकाको परिवर्तन उनका लागि सन्तोषको विषय बनेको छ । 'उनीहरूको अनुहारमा देखिएको सामान्यपनले भित्रको पीडा मेटिएको छैन,’ उनले थपे, 'सबैले उनीहरूको भावनात्मक अवस्था र भविष्यप्रति निरन्तर चासो राख्न आवश्यक छ ।'
वडाका विभिन्न पाँच-छ स्थानमा अस्थायी होल्डिङ सेन्टर बनाइएका बेला उनी त्यहाँ पुगेर आवश्यक सामग्री, खाना, बसोबास र प्रभावितका समस्याबारे बुझ्थे ।
अधिकांशको व्यवस्थापन अन्यत्र सारिए पनि उनी बिहान-बेलुका प्रभावितहरू बालबालिकाकै बीचमा पुगिरहेका छन् । शान्ति सेवा गृहले खाना, पिउने पानी, बसोबास तथा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ। संस्थाले समाधान गर्न नसकेका समस्या आए आफूले सहयोग गर्ने गरेको उनी बताउँछन् ।
'कहिलेकाहीँ रक्तचापका बिरामीलाई पनि समस्या पर्ने गरेको छ। आवश्यक समन्वय र सहयोग गरिन्छ,’ उनले भने, 'कतिपय बालबालिकालाई तत्कालै अस्पताल लानुपर्ने हुन्छ । कति रात नसुती नसुती उनीहरुको सेवामा खटिएको छु ।'
मगरका अनुसार व्यवस्थापनमा ठूलो समस्या छैन । विपद्का कारण विस्थापित भएका मानिसहरूको आवश्यकता बुझ्नुपर्छ । उनीहरूलाई सहज वातावरण दिनु जिम्मेवारीमा परेको छ ।
थापा मगरले आफ्नो वडा प्रत्यक्ष रूपमा बाढीबाट ठूलो भौतिक क्षति व्यहोरेको छैनन् । कामको सिलसिलामा बाहिर गएका करिब ८-१० जना स्थानीय बेपत्ता भएको उनले जानकारी दिए ।
'मानिसहरू बेपत्ता भएको पीडा एकातिर छ, अर्कोतिर अभिभावक गुमाएका बालबालिकाको भविष्यको चिन्ताले सताइरहन्छ,’ उनले भने ।
५४ वर्षका थापा मगरको जनप्रतिनिधिका रूपमा कार्यकाल आगामी केही महिनामा सकिँदै छ । पदमा रहे पनि नरहे पनि मानवताको कार्यमा सधैँभरि अगाडि रहने उनले बताए ।
विपद्का बेला सबैभन्दा ठूलो सहयोग सधैँ रकम वा राहत सामग्री मात्र नहुने उनको बुझाइ छ । 'मानिसका समस्या सुनिदिनु, आवश्यक पर्दा उनीहरूका साथमा उभिनु र अभिभावक गुमाएका बालबालिकालाई आफ्नै सन्तानझैँ माया गर्नु । मानिसले अरूको भावना बुझेर काम गर्न सक्यो भने त्यसलाई असल मानवता हो,' थापा मगरले भने ।