काठमाडौं । बिहानको ५ बजेर ३२ मिनेट । समिर थापा मगरको आँखा अगाडि आफूले वर्षौं लगाएर बनाएको घर ढल्यो । केही क्षणमै घरसँगै उनको परिवारको वर्षौंको सपना पनि भग्नावशेषमा परिणत भयो ।
ललितपुर महानगरपालिका-२४ धापाखेलमा रहेको तीन आना जग्गामा थापा मगरले घर बनाए । उनले सात वर्षअघि अर्थात् २०७६ मा करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर घर बनाएका थिए ।
घरको ऋण तिरि नसक्दै घरलाई पहिरोले ढालेको छ । घर बनाउन लिएको अझै २८ लाख तिर्न बाँकी रहेको उनले बताए । कृषि विकास बैंकमा होम लोनको किस्ता तिरिरहेको उनले बताए ।
'घर हुँदा होम लोन तिर्नुपर्छ भन्ने थियो । नभएको घरको ऋण कसरी तिर्नुहोला,' उनी मलिन स्वरमा भन्छन् ।
उनलाई ‘घर ढल्यो’ भन्ने पीडाभन्दा ठूलो चिन्ता अहिले परिवारलाई कहाँ राख्ने भन्ने पीडाले सताउन थालेको छ ।
घरमा थापा मगरसहित तीन जना बस्दै आएका थिए । श्रीमान, श्रीमती र छोरी घरमा बस्दै आएका थिए । जेठी छोरीको विवाह भइसकेको छ । उनले घर भाडामा लगाइएको थिएनन् ।
आफ्नै परिवारका लागि मेहनतले बनाएको त्यही घर अहिले पहिरोले खोसेपछि पुनःस्थापना कहाँ गर्ने भन्ने अन्योलमा छन् उनी । अहिले नजिकैको चर्चमा उनीहरू बसिरहेका छन् ।
त्यहाँ सात दिनसम्म बस्ने व्यवस्था मिलेको छ । तर, सात दिनपछि कहाँ जाने भन्ने उनीहरूलाई थाहा छैन।
'अहिलेका लागि सात दिन बस्ने ठाउँ भएको छ,' उनी भन्छन्, 'त्यसपछि कहाँ जाने, कसरी बस्ने भन्ने केही थाहा छैन ।'
थापाले बिहान साढे ५ बजे घर ढलेको थाहा पाएको बताए । 'आफ्नै आँखाअगाडि घर ढल्यो,’ थापा मगर भन्छन्, ‘घर मात्र ढलेन, सानो परिवारको सपना समेत ढल्यो।'
थापा मगरले स्थानीय तहका वडाध्यक्षलाई घटनाबारे जानकारी गराइसकेका छन् । तर, पहिरोका कारण पुरानै ठाउँमा पुनःस्थापना हुन सक्ने अवस्था नरहेको उनको भनाइ छ। 'त्यही ठाउँमा फेरि बस्न धेरै गाह्रो छ,' उनी भन्छन् ।
घरसँगै रोजगारी पनि गुम्यो
थापा मगरको समस्या घर भत्किएर मात्रै सकिएको छैन । पहिरोले उनको रोजगारीको आधारसमेत खोसिएको छ ।
उनी पेशाले फोटोग्राफर हुन् । भीएफएक्स छायाँ सेन्टरमा फोटोग्राफीको काम गर्थे । तर, थापाथलीमा सरेपछि बस्ने कोठा नपाउँदा उनले कामलाई निरन्तरता दिन सकेका छैनन् ।
'थापाथलीमा सरेपछि कोठा पाइनँ । त्यसपछि काम पनि पाएको छैन,' उनी भन्छन्, 'अहिले म बेरोजगार भएको छु ।'
ऋणको २८ लाख रुपैयाँ बाँकी छ, अर्कोतिर आम्दानीको कुनै स्रोत नभएको दुःखेसो पोखे ।
इलामबाट काठमाडौं आएका थिए
थापा मगरको पुरानो घर इलाम हो । रोजगारी र भविष्यको खोजीमा उनी २०५० सालमा काठमाडौं आए । लामो समयपछि आफ्नै घर बनाएर परिवारलाई सुरक्षित र स्थिर जीवन दिने उनको सपना थियो ।
उनले वर्षौं मेहनत गरे । ऋण लिएर घर बनाए । परिवारलाई घरमा राखे । तर पहिरोले केही क्षणमै उनको वर्षौंको मेहनत माटोमा मिलाइदियो ।
'यत्रो वर्ष दुःख गरेर बनाएको घर आँखै अगाडि ढल्यो,' थापा मगर भन्छन्, 'अहिले परिवारलाई कसरी राख्ने भन्ने नै सबैभन्दा ठूलो चिन्ता छ।'
घर ढलेको थाहा पाएपछि उनको श्रीमती मञ्जु राई बेहोस भइन् । उनलाई तत्कालै पाटन अस्पतालमा उपचारको लागि लगेको उनी बताउँछन् ।
'अहिले अस्पतालबाट घरमा ल्याएर राखिएको छ,' उनी भन्छन,' श्रीमतीलाई सम्झाएर राख्नु परेको छ । हामीले सक्दो प्रयास गर्नेछौं। तर, कहाँबाट फेरि उठ्ने होला गाह्रो भएको छ।'