क्यानडाकी कवयित्री एनी कार्सनले पाइन् साहित्यतर्फको नोबेल पुरस्कार
काठमाडौं । क्यानडाकी कवयित्री तथा निबन्धकार एनी कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । ७६ वर्षीया कार्सन कविता, कथा साहित्य र शैक्षिक अध्ययनबीचका सीमालाई प्रायः पार गर्ने आफ्ना सिर्जनाका लागि प्रसिद्ध छन् । नोबेल पुरस्कार समितिले समकालीन साहित्यका लागि नयाँ रूपहरू स्थापना गर्दै शास्त्रीय परम्परासँग रोचक संवाद गर्ने उनका साहसी र सिर्जनात्मक साहित्यिक कृतिका लागि पुरस्कार प्रदान गरिएको जनाएको छ । नोबेल पुरस्कार कुनै लेखकको समग्र साहित्यिक योगदानका लागि प्रदान गरिन्छ । यसलाई विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । पुरस्कारसँगै विजेताले १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । कार्सनका प्रमुख कृतिमा ‘द ग्लास एसे’, ‘अटोबायोग्राफी अफ रेडः अ नोभेल इन भर्स’, ‘नक्स’, ‘फ्लोट’ र ‘द ब्यूटी अफ द हसब्यान्डः अ फिक्सनल एसे इन २९ ट्याङ्गोज’ पर्छन् । कार्सनले प्राचीन युनानी साहित्यका कृतिहरूको अनुवादसमेत गरेकी छन् । उनी ३० वर्षभन्दा बढी समयसम्म क्लासिक्स अर्थात् प्राचीन युनानी तथा रोमन साहित्य र संस्कृतिकी प्राध्यापकका रूपमा कार्यरत थिइन् ।
जेनजी आन्दोलनमा लुटिएका हतियार किन्ने तयारी गर्दै थियो माझी ग्याङ्ग
काठमाडौं । बिहानको अँध्यारो होस् वा मध्यरातको सुनसान । सडकमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई पछ्याउने, ठेगाना सोध्ने र बहाना बनाउने । उनीहरू मौका मिल्नेबित्तिकै सिक्री तथा नगद लुटेर मोटरसाइकलमा फरार हुन्थे । यही समूहको नेतृत्व सिन्धुलीका आयन माझीले गर्दै आएका थिए । माझीलाई प्रहरीले बुधबार बेलुका जडीबुटी पुलमुनिको सडकबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन खोज्यो । प्रहरीमाथि धारिलो हतियार प्रहारको प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो । बिहीबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनमा एसएसपी दिलिप खड्काले घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको बताए । उनका अनुसार खोजतलासमा भक्तपुरको ठिमीबाट समूहका थप दुई जना राकेश थिङ र मनोज कुमार मोक्तान पक्राउ परेका हुन् । उनले माझी सामान्य लुटेरा मात्रै होइनन्, समूह परिचालन गर्ने मुख्य योजनाकारसमेत रहेको जानकारी दिए । 'लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट र अन्य आवश्यक सामग्री व्यवस्थापन गर्ने तथा लुटिएको बहुमूल्य सामानको व्यवस्थापन गर्ने भूमिका उनको थियो,' उनले भने । जेलबाट छुटे, फेरि उही धन्दामा माझीको आपराधिक पृष्ठभूमि नयाँ भने होइन। प्रहरीका अनुसार उनी विभिन्न समयमा काठमाडौं, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयमा डाँका–चोरीसम्बन्धी २७ वटा मुद्दामा प्रतिवादी बनिसकेका छन् । २०७७ सालको डाँका–चोरी मुद्दामा कैद भुक्तान गरेपछि पनि उनी पुनः आपराधिक गतिविधिमा फर्किएकाे प्रहरीको अनुसन्धानबाट खुलेकाे छ। उनी २०७७ सालको मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए । अदालतले थप कैद सजाय तोकेपछि फरार रहेका उनी २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी छुटेका थि ए। तर, जेलबाट बाहिरिएपछि पनि उनले आपराधिक गतिविधि रोकेनन् । पुरानै शैलीलाई थप संगठित बनाउँदै उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सिक्री लुटपाट तथा हातहतियारको प्रयोगबाट लुटपाट गर्ने समूह परिचालन गरे । ‘ठेगाना सोध्ने’ बहानादेखि इन्ड्राइभ चालकसम्म माझी समूहको आपराधिक कार्यशैली पनि प्रहरी अनुसन्धानमा खुलेको छ । बिहानको अँध्यारो समयमा सडकमा हिँडिरहेका व्यक्तिलाई ठेगाना सोध्ने बहाना बनाउने, नजिक पुगेपछि सिक्री खोस्ने र मोटरसाइकलमा भाग्ने उनीहरूको एउटा प्रमुख शैली रहेको प्रहरी बताउँछ । उनीहरूले इन्ड्राइभ वा पठाओ चालककाे बाहना बनाएर राति तथा बिहानको सुनसान समयमा एक्लै हिँड्ने महिला तथा पुरुषलाई निशाना बनाउने गरेका थिए । सुनसान स्थानमा पुर्याएर लुटपाट गर्ने र आवश्यक परे हतियार प्रयोग गर्ने तयारीसमेत उनीहरूले गर्ने गर्थे । लुटपाटपछि पक्राउबाट बच्न एउटै मोटरसाइकलमा निर्भर नभई तीन वटाभन्दा बढी सवारी साधन परिवर्तन गर्ने गरेका थिए । कतिपय अवस्थामा लुटपाटकै लागि मोटरसाइकल चोरी गर्ने र त्यही मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । माझी समूहले गरेका भनिएका घटनामध्ये असोज १४ गते राति बौद्ध गेट नम्बर २ नजिक भएको लुटपाट गरेका थिए । तरकारी किन्न जाने क्रममा रहेका महेन्द्रकुमार बललाई चार–पाँच जनाको समूहले नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेका थिए । त्यसअघि गत १३ गते राति डल्लु चौतारास्थित सडकमा अर्को घटना भएको थियो। कारभित्र रहेका रमेश खड्कीको घाँटीमा लगाएको करिब साढे तीन तोलाको सिक्री मोटरसाइकलमा आएका तीन जनाले लुटेका थिए । उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको थियो । मोटरसाइकल चोरीदेखि हतियारसम्म माझी समूहले लुटपाटका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेका छन् । पछिल्ला घटनामा प्रयोग भएको पल्सर २२० मोटरसाइकलसमेत बालकुमारी पुलमुनिबाट लुटेका थिए । उनीहरुले लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, नक्कली नम्बर प्लेट पाँच थान, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडा बरामद भएको छ । माझीको समूहले जेनजी आन्दोलनका क्रममा लुटिएका आधुनिक प्रहरी हतियार खरिद गर्ने तयारीमा थिए । माझीले लामो समयदेखि उपत्यकामा सिक्री स्न्याचिङ, मोटरसाइकल चोरी तथा सुन–डलर देखाएर लुटपाट गर्ने आपराधिक समूहका व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्दै आएका थिए। उनले नयाँ समूह बनाउने र योजनाबद्ध रूपमा अपराध गर्ने गरेका थिए ।
गुल्मीमा करेन्ट लागेर ८ वर्षमा १५ जनाको मृत्यु, रुखमा तार राख्न नमान्नेलाई मुद्दा
काठमाडौं । गुल्मीमा विद्युत लाइन विस्तार र व्यवस्थापनमा लापरबाही भएको भन्दै स्थानीयले प्रश्न उठाइरहेका बेला पछिल्लो आठ वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो पाँच महिनामै चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार गत जेठमा मालिका–३ ह्वाङ्दीका सूर्यबहादुर थापा, असारमा धुर्कोट–५ गान्टारीकी हुमकला भण्डारी, भदौमा मदाने–४ बाउनपानीकी डालकुमारी खत्री र असोजमा धुर्कोट–५ सिमलचौरमा अधेरीखोलाका ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । यसअघि २०७६ असोजमा छत्रकोट–६ की तुलसीदेवी घिमिरे, २०७७ मंसिरमा मुसिकोट–७ का धिरज कार्की, २०७८ वैशाखमा इस्मा–२ का प्रकाश मुखिया, असारमा रुरुक्षेत्र–१ का सुन्दर श्रेष्ठ र भदौमा मदाने–१ अग्लुङका विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको थियो । त्यस्तै, २०७९ वैशाखमा इस्मा–२ का गोकर्ण थापा र भदौमा धुर्कोट–४ का मानबहादुर राना, २०८१ असोजमा मालिका–२ दर्लिङकी माया रोका मगर र चैतमा मुसिकोट–७ पल्टारकी चन्द्रकला कुमाल तथा २०८२ असारमा मुसिकोट–२ काब्राचौरका यमलाल सापकोटा र धुर्कोट–७ द्वानेटाका झबिन्द्र घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको विवरणअनुसार यी घटनामध्ये तीन जनाको घरायसी विद्युत प्रयोगका क्रममा र तीन जनाको विद्युतीय धरापमा परेर मृत्यु भएको हो । बाँकी नौ जनाको मृत्यु विद्युत लाइन तथा संरचनासँग सम्बन्धित घटनामा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय पत्रकार तथा उपभोक्ता भरत पाण्डेले विद्युत लाइन विस्तार गर्दा मापदण्ड पालना नगरेका कारण दुर्घटनाको जोखिम बढेको आरोप लगाएका छन् । विशेषगरी खेतबारी हुँदै जथाभावी लाइन विस्तार गर्ने, नाङ्गा तार खुला छाड्ने तथा कतिपय स्थानमा किसानका रुख र बाँसका संरचनाको सहारा लिएर तार लैजाने गरिएको स्थानीय उपभोक्ताको गुनासो रहेको छ । चार वर्षमा १४ जना घाइते विद्युत लाइन र पोल व्यवस्थापनसँग सम्बन्धित दुर्घटनामा पछिल्ला चार वर्षमा गुल्मीमा १४ जना घाइते भएको तथ्यांकले देखाउछ । २०८० भदौमा धुर्कोट–६ का राजेन्द्र कुँवर र इस्मा–६ बुल्मका मोती कुमाल, मंसिरमा इस्मा–५ मैदानका पदम बस्नेत करेन्ट लागेर घाइते भएका थिए । त्यस्तै, २०८१ जेठमा अर्घाखाँची छत्रदेव–८ नेटाका विजय परियार, असारमा रोल्पा सुनछहरी–४ का ओमप्रकाश घर्ती, भदौमा गुल्मीदरबार–७ गलामकोलका सागर कार्की, असोजमा मालिका–२ दर्लिङकी माया रोका मगर र चैतमा मुसिकोट–२ का कर्णबहादुर माझी घाइते भएका थिए । २०८३ वैशाखमा रुपन्देही देवदह–७ का ज्योति दुबे र भागिर दुबे, जेठमा मालिका–४ अर्खावाङका विशाल अर्याल, असारमा मुसिकोट–१ थामडाँडाकी नमिता विक, भदौमा छत्रकोट–३ मगरामका कृष्णप्रसाद पन्त र असोजमा रिब्दीकोट–२ पाल्पाका देवबहादुर घाइते भएका थिए । रुखमा तार नतान्नूस् भन्दा मुद्दा विद्युत लाइन विस्तारको विषयमा प्रश्न उठाउने उपभोक्तामाथि नै दबाब र कानुनी झमेलाको सामना गर्नुपरेको स्थानीयको आरोप छ । स्थानीय उपभोक्ता पाण्डेले आफ्नो टोलमा सुरक्षित रूपमा पोल राखेर विद्युत लाइन विस्तार गर्न आग्रह गर्दा समस्या झनै बढेको दाबी गरे । रेसुङ्गा नगरपालिका–२ मा रहेको हाम्रो टोलमा एउटा पोल राखेर लाइन विस्तार गरिदिनुस भनेर प्रस्ताव राख्दा वैशाखमा निकालेको मिटर असोजसम्म नजोडिएको पाण्डेले बताए । उनले भने, ‘मिटर नजोडिदिने अनि बिजुली नै नबाले पनि महसुल र जरिवाना तिर्नुपर्ने किन भनेर प्रश्न गर्दा हातपात र मुद्दा मामिलासमेत गरियो ।’ पाण्डेका अनुसार विद्युतका तार व्यवस्थित गरौंभन्दा विद्युतका हाकिम र नगरप्रमुख खिलध्वज पन्थीले धम्की समेत दिएका थिए । यस विषयमा बुझ्न सम्पर्क गर्दा जिल्ला विद्युत कार्यालयका प्रमुख इन्जिनियर मनोज अर्यालको फोन स्विच अफ रहेको छ । उनी अहिले यही विषयमा छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए । प्रजिअ सापकोटाले प्राधिकरणले कमजोरी गरेको भए कारवाही हुने सापकोटाले जानकारी दिए । स्थानीयका अनुसार कतिपय ग्रामीण क्षेत्रमा विद्युत तार र पोलको संरचना अझै पनि जोखिमपूर्ण अवस्थामा छन् । खेतबारीका रुखमा तार बाँधेर, बाँसका घारामा अड्काएर वा अस्थायी संरचनाको सहारामा लाइन लैजाँदा हावाहुरी, वर्षा तथा खेतीपातीका क्रममा दुर्घटनाको जोखिम बढ्ने उनीहरूको भनाइ छ । स्थानीयले नेपाल विद्युत् प्राधिकरणले सुरक्षित र व्यवस्थित रूपमा लाइन विस्तार गर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरूले विद्युत संरचनाका कारण दुर्घटना भएर मानवीय क्षति भएपछि क्षतिपूर्ति दिनेभन्दा दुर्घटना हुनै नदिने गरी पूर्वसावधानी र नियमित अनुगमनमा जोड दिनुपर्ने बताएका छन् । प्रजिअ सापकोटाले पूर्वसावधानीकै विषयमा छलफल चलिरहेको बताए । सापकोटाका अनुसार विद्युत लाइन विस्तारका क्रममा मापदण्ड पालना भए/नभएको, जोखिमयुक्त संरचना हटाउन तथा सुधार गर्न प्राधिकरणले कस्तो अनुगमन गरेको छ भन्ने कोणबाट छलफल चलिरहेको छ ।