काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं ले ४५ दिने चाडपर्व सुरक्षा रणनीति सार्ववजनिक गरेको छ । प्रहरीले शुक्रबार (आज)देखि कात्तिक ३० गतेसम्म विशेष सुरक्षा परिचालन गर्ने रणनीति बनाएको हो ।
चाडपर्वलाई मर्यादित एवं व्यवस्थित बनाउन प्रहरीले विशेष रणनीति बनाएको हो ।
दशैं–तिहार तथा छठलाई मर्यादित, सुरक्षित एवं सुव्यवस्थित बनाउन ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३’ रणनीति तयार गरेको हो ।
शुक्रबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले मन्दिर क्षेत्र, खाद्यान्न खसी बजार, बसपार्क, सवारीसाधन व्यवस्थापन, कार्यालय , बैंक, वित्तीय संस्था, सार्वजनिक भीडभाड, किनमेल क्षेत्र, सपिङ मल र गरगहना बिक्री हुने क्षेत्रलाई प्रहरीले सुरक्षा प्रदान गर्ने जानकारी दिए ।
प्रहरीले सुरक्षा प्रदान गर्न सूचना संकलन, अध्ययन विश्लेषण, प्रक्षेपण र कार्य योजना निर्माण गर्ने उनले बताए ।
सुरक्षा प्रदान गर्न समुदायसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । सुरक्षा प्रदान गर्नका निम्ति कुकुर, सीसीटीभी र ड्रोनबाट निगरानी गर्ने थापाले उल्लेख गरे ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट तीन थान ड्रोन उपलब्ध गराइएको पनि थापाले जानकारी दिए ।उनका अनुसार सार्वजनिक स्थान भद्रकाली, शान्तिबाटीका, पदमोदय क्याम्पस, गौशाला, त्रिपुरेश्वर, बल्खु, त्रिवि गेट र एयरपोर्टमा समेत ड्रोनबाट निगरानी गरिनेछ ।
काठमाडौंमा सुरक्षा प्रदान गर्न काठमामाडौंभित्र रहेक प्रहरी वृत्त, जनसेवा र प्रभागबाट प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।
उनका अनुसार प्रहरी वृत्त महाराजगंजबाट १५, गौशाला वृत्त १० जना, वृत्त कालीमाटी २०, वृत्त थानकोट १०, वृत्त स्वयम्भू १५, वृत्त बालाजु १०, वृत्त जनसेवा ३०, प्रभाग नयाँ बसपार्क ४०, प्रभाग कोटेश्वर २०, प्रभाग नागढुंगा १० र इलाका प्रहरी कार्यालय फर्पिङबाट १० जना प्रहरी परिचालन गरिने छ ।
प्रहरीले काठमाडौंका ९८ वटा क्षेत्रलाई सुरक्षाको संवेदनशील मानेको छ ।
परिसरले पैदल गस्ती, ट्राफिकसहितको संयुक्त चेकिङ, सादा पोशाक, सीमा नाका सुरक्षा ड्युटी, संवेदनशील स्थान केन्द्रीत ड्युटी, एम्बुस परिचालन, घरदैलो कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, बजार अनुगमन र कुकुर परिचालन गर्नेसम्म तयारी गरेको छ ।
नौरथादेखि मन्दिर क्षेत्रमा ८० जना प्रहरी परिचालन गरिने थापाले बताए । खसी बजारमा ३५, रात्री एम्बुसमा १८१, सीआरभीमा २३०, स्ट्राइकिङ १२० र कुकुरसमेत परिचालन गरिने उनले जानकारी दिए ।
लामो तथा छोटो दुरीमा जाने यात्रुका लागि प्रहरीले सहायता कक्षसमेत परिचालन गर्ने भएको छ ।
कलंकी, गौशाला चोक, चावहिल चोक, गोगबु बसपार्क बिजी मलअगाडि , सितापाइला जोरपाटी, बालाजु बाइपास, बालाजु चोक, सुरुङमार्ग र नागढुंगामा नागरिक सहायता कक्ष ल्याइने थापाले जानकारी दिए ।
दशैं–तिहार तथा छठमा हुनसक्ने अपराधजन्य कार्यलाई रोकथाम तथा न्यूनीकरण गर्न भन्दै प्रहरीले विशेष योजना लागू गरेको छ ।
प्रहरीले चाडपर्वमा पटका, अतिसबाजी, आगलागी, मदिरा सेवनपछि सवारी दुर्घटना, नक्कली टिकट, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधि हुनसक्ने औंल्याएको छ ।
त्यसैगरी, पेय पदार्थमा नसालु पदार्थ मिसाउने, नक्कली नोटको कारोबार, हत्या लगायतको घटना पनि हुनसक्ने जोखिम रहेको प्रहरीले सुरक्षा विश्लेषण गरेको छ ।
आपराधिक गतिविधि रोक्न र नागरिक सुरक्षा प्रत्याभूति दिलाउन विशेष सुरक्षा योजना लागू गरिएको परिसरका एसपी तथा प्रवक्ता थापाले जानकारी दिए ।