नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ ।

घटस्थापनासँगै सुरु हुने नवरात्रमा नौ दुर्गाको क्रमशः पूजा आराधना गर्ने चलनअनुसार आज कुष्माण्डा देवीको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएसँगै देवीका मन्दिर काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणीमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको चहलपहल हुन्छ ।

त्यसैगरी, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना र पूजाआजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ रूपलाई नवदुर्गा भनिन्छ ।

दसैँका अवसरमा उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा र नरदेवीलगायत मन्दिरलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ । नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन्। धार्मिक मान्यताअनुसार यी देवीलाई दिदीबहिनीका रूपमा मान्ने चलन छ ।

Share News