ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए, कभर्डहलको अवस्था भने दयनीय (फाेटाेफिचर सहित)
काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो । एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफै सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) भने यस बारेमा बेखबर थियो । कोरोना भाइरस (कोभिड-१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने सोचमा छ । ब्याडमिन्टनका केही खेलाडी बिहानै कभर्डहलमा उपस्थित थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए । कोरोना भाइरसका कारण कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । तर कभर्डहल भित्र पस्दा वातावरण भने निकै फरक थियो । खेलाडीहरु बाल्टीनमा पानी, हातमा झारु र ब्रसले परेवाले विष्टाएको फोहोर सफा गर्न व्यस्त थिए । थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघ पनि अभ्यासमा फर्काउन पाउँदा खुसी छ । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडी मैत्रि नहुनु विडम्बना हो । दुई घन्टा लामो सरसफाई पछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए । नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधारलाई पनि सही तरिकाले संरक्षण गर्न नसक्नु आलोचनाको विषय हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।
आजदेखि मौसम सफा रहने
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । रासस
पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं । सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन् । छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । साथै, उक्त म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाई फिचर्ड गरिएको छ । भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन् ।