सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिन्छः मुख्यमन्त्री राई
काठमाडौं । विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड-१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिए । घर बस्न नसक्ने अवस्थामा रहेका कोरोनाका बिरामीलाई आइसोलेशनमा निःशुल्क रहने व्यवस्था मिलाइएको उनले बताए। धेरै दिनदेखि बन्द रहेको सो भवनलाई कोरोना उपचारमा सहयोग पुग्ने उद्देश्यले लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आइसोलेशन निर्माण गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भवनको आज शुभारम्भ गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले कुनै देशलाई अछुतो नराखेको बताए । उनले कोरोनाले धनी गरिब सबै वर्गलाई चपेटोमा पारेको चर्चा गर्दै कोरोनालाई जित्न सबै मिल्नुपर्ने कुरामा जोड दिए । उनले नवनिर्मित आइसोलेशनलाई व्यवस्थित गर्न चिकित्सक तथा भेन्टिलेटर सहयोग गर्ने जानकारी दिए । उनले विराटनगरमा एक हजार श्यया क्षमताको आइशोलेशनको आवश्यकतामा रहको र होम आइसोलशन भन्दा संस्थागत आइसोलेशनको आवश्यकता औल्याए । मुख्यमन्त्री राईले आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन सबैलाई आग्रह गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको हुँदा सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई नियन्त्रण गर्न सकिने बताए ।
सगरमाथा इन्स्योरेन्सद्वारा साइकलिङ प्रतियोगीको निशुल्क दुर्घटना बीमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सो संग सम्बन्धित विबिध आर्थिक सहयोग समेत गरेको छ । उक्त प्रतियोगिता असोज २४ गते शनिबार भद्रकाली देखि कागेश्वरी सहिद पार्कसम्म हुन गइरहेको बक्स अफिस साइकलिङ २०२० “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाउ, पर्यावरण जोगाऔं” भन्ने मूल नाराका साथ हुँदै छ । यसै गरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढुवा दिने उद्देश्यका साथै शारिरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्पोर्टस् अन्तर्गत फष्ट वेमेन जोननालिष्ट एभरेष्ट एस्पेडिसन २०१८, मे थाई बक्सिङ स्पोर्टस् इभेन्ट जस्ता कृयाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ ।
प्रहरीद्वारा चोरी भएका २६ वटा मोटरसाईकल धनीलाई जिम्मा
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन् । “एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख भिम ढकालले भने: ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लष्ट भेकल एप्लिकेशनमा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’ उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए । आज बम बहादुर बिश्वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरज राम श्रेष्ठ, केशव अधिकारी, राम विक्रम सिजापती, जयराम प्रसाद कुशवाह, कुमार बोगटी, ईन्द्र कुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पुर्णमाया पाख्रिन, निरज पाण्डे, धनविर योञ्जन, मिना के.सी., शिव शंकर श्रेष्ठ, कृष्ण बुढाथोकी, राम कुमारी श्रेष्ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथ भुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो । महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।