नेपाली क्रिकेट खेलाडीले एक वर्षपछि पाए १२ महिनाकाे एकमुष्ट पारिश्रमिक

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान)को खातामा पठाएको थियो । उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको थियो । उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाएका हुन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यहीअनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराएको हो । ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र विनोद भण्डारी छन् भने बी श्रेणीमा बसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, पवन सराफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, ललितनारायण राजवंशी र सुशन भारी तथा सी श्रेणीमा रशिद खान, इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र राजु रिजाल रहेका छन् । ‘ए’ श्रेणीमा रहेका खेलाडीले एक वर्षको एकमुष्ट रु पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु चार लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि ‘सी’ श्रेणीका खेलाडीको बराबर पारिश्रमिक प्राप्त गरेका छन् ।

विचारले जन्मियो अचार, अवसर बन्यो लकडाउन

काठमाडौं । चैतको महिना । देशभर लकडाउन थियो । सडकमा मानिसको आवत-जावतदेखि व्यापार व्यवसाय सबै ठप्प । त्यो बेला महिनौं घरभित्रै कैदी जस्तै बनेर बस्नु परेको अनुभव कसैमा थिएन । त्यही बाध्यता आइलाग्यो ललितपुरकी पूजा जोशीलाई पनि । लकडाउनको समय । न बाहिर हिड्न मिल्ने, न त कुनै व्यापार व्यवसाय गर्न नै पाइने भएपछि पूजालाई आलश्य मात्र होइन दिन प्रतिदिन चिन्ताले पनि स्थान लिन थाल्यो । पूजा होस्टेल व्यवसायी हुन् । उमेरले परिपक्व पूजा दिमागमा पनि परिपक्व छिन् । लकडाउनकै समयमा कसरी आत्मनिर्भर बन्ने ? कामलाई कसरी निरन्तरता दिने ? घर परिवार कसरी चलाउने ? लगायतका विषयहरुमा आफुले धेरै सोच्न बाध्य भएको उनी बताउँछिन् । व्यवसाय गरौं, होस्टेल बन्द छन् । अब कसरी गुजारा चलाउने ? होस्टेलमा लाखौं लगानी छ । लामो समयसम्म लकडाउन भयो भने त धेरै क्षति हुन्छ होला । आफुले यस्ता यस्तै नानाथरी कुराहरु मनमा सोचेर बसेको उनी बताउँछिन् । बिचमै उनले एउटा योजना बनाइन् । त्यो योजना थियो अचार बनाउने । ‘हुन त मैले अचार बनाउने सम्बन्धी तालिम सिकेको १६ वर्ष भयो, होस्टेल खुला हुँदाको समयमा होस्टेलमा बस्ने र आफ्नो परिवारको लागि मात्र अचार बनाउँथेँ ।’ उनी भन्छिन्, ‘लकडाउन भएपछि त्यसलाई व्यवसायिक रुपले अगाडि बढाउने बिचार आयो । यसैलाई अहिले निरन्तरता दिइरहेको छु ।’ पूजाको होस्टल ठप्प छ । व्यापार शून्य छ । होस्टलमा बस्नेहरु गाउँ फर्किसकेका छन् । तर, पनि पूजा अहिले खुसी छिन् । उनलाई लकडाउनले दुःखी नबनाएको उनी बताउँछिन् । ‘हुनत कोरोना भाइरसले सबैलाई डर र त्रास उत्पन्न अझै पनि गराइरहेको छ, तर डर त्रासमा रहेर केही पनि हुने रहेनछ, म आफ्नै काममा व्यस्त भएँ, आफु सुरक्षित रहेर कोरोनाको बारेमा धेरै कुरा सोच्न छोडेपछि त्यो त्रास हटेर जाने रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् । अहिले पूजा अचार बनाउनमै व्यस्त छिन् । उनलाई होस्टलमा काम गर्ने अन्य दुई जनाले पनि अचार बनाउन साथ दिइरहेका छन् । ती दुई जना पनि लकडाउनको कारण घर जान नपाएपछि यतै रोकिएका छन् । आजभोलि उनीहरुको दैनिकी पनि पूजासँगै अचार बनाउनमै बित्छ । ललितपूरको कुपण्डोल घर भएकी पूजा व्यवसाय गर्नकै लागि सानेपा पुगेकी छिन् । उनको आम्दानी होस्टलबाटै हुन्थ्यो । घरमा श्रीमान, दुइवटी छोरी र पूजा आफु । सानो खुसीको परिवार छ पूजाको । आजभोलि होस्टलका दुई जना स्टाफ पनि उनीसँग नै बस्छन् । लकडाउनमा पूजाको परिवार अचार बनाउमै व्यस्त छन् । १६ वर्ष अगाडि अचार बनाउन सिकेको, व्यवसायचाहिँ अहिले किन ? पूजा यसको सरल उत्तर दिन्छन् । पहिले होस्टल व्यवसाय थियो । लकडाउनले त्यसलाई ठप्प बनायो । होस्टलमा बस्ने बहिनीहरुले मैले बनाएको अचार खुबै मिठो भन्थे । सानैदेखि अचार बनाउन रहर लाग्ने मलाई त्यसपछि झन् जाँगर लाग्थ्यो । होस्टलको समयमा दुई व्यवसाय सँगै सञ्चालन गर्ने समय पनि भएन । अहिले होस्टेल बन्द भएपछि अचार बनाउन सुरु गरेकी हुँ ।’ पूजा जोशी होस्टेलमा बस्ने बहिनीहरुप्रति आभार प्रकट गर्छिन् । उनी भन्छिन्, ‘उनीहरुले अचार मिठो छ भनेर काम गर्न उत्प्रेरणा नदिएको भए मलाई अहिले अचार बनाउन जाँगर चल्थेन ।’ उनले अहिले ‘डटर्स होम अचार’को नाम दिएर व्यवसाय गरिरहेकी छिन् । सुरुवातमा आफुले पूर्ण रुपमा व्यावसायिक भन्दापनि जानेको कुरा सिक्दै जाने र वरपरकै मान्छेलाई दिने सोचले अचार बनाउन शुरु गरेकी उनी बताउँछिन् । तर, अहिले उनको सोच विपरित उनको व्यवसाय र आम्दानी भइरहेको छ । होस्टल व्यवसायीसँगको निकटता, अरुसँग चाँडै घुलमिल हुन सक्ने उनको बानीले व्यवसाय गर्न थप उर्जा र हौसला मिलेको उनी बताउँछिन् । पूजाले सुरूसुरूमा अचार बनाएर आफन्तलाई चखाइन् र बनाएका अचारका फोटो समाजिक सञ्जालमा राखिन् । त्यसपछि दिनप्रतिदिन अचारको अर्डर आउन थाल्यो । उनको होस्टल भित्रको अचारको बयान अब आफन्त हुँदै बजारसम्म पुग्यो । सामाजिक सञ्जालमा उनीसँग अचारको बयान गर्नेहरुको जमात हुन थाल्यो । जसले उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो । भनिन्छ नि,‘ जहाँ इच्छा त्यहाँ उपाय ।’ हुनत उनीसंग पनि अरुले जस्तै बन्दले सबै चौपट पार्यो भनेर पिरोलिएर बस्ने अवस्था नभएको होइन । तर उनले यसलाई अवसरको रुपमा लिएर आफ्नो पुरानो सीप र कलालाई सम्झिइन् । सीप ज्ञान पुरानै भए पनि यो कदम भने उनको लागि नयाँ नै थियो । ‘त्यसपछि उनको यो घरेलु सुरुवातले थप बढी चर्चा बटुल्यो । बिस्तारै सामाजिक संजालमा समेत अर्डरहरु आउन थाले, अचार चाखिसकेपछि सबैले खुलेर तारिफ गरे, जसले उनको मनोबल थप बढाइदिएसँगै उनमा थप उर्जा थपियो । अहिले आफन्तबाट मात्र होइन विभिन्न माध्यमबाट नयाँनयाँ ठाउँबाट अचार माग भइरहेको उनी बताउँछिन् । ‘अहिले आफन्त मात्र होइन स्वदेश विदेशबाट समेत अचारको माग आइरहेको छ, लकडाउनकाे कारणले गर्दा माग अनुसारको आपुर्ति गर्न मैले सकेको छैन,’ उनले भनिन् । अब अवस्था सामान्य भइसकेपछि यसलाई विस्तार गरेर लैजाने सोच बनाएको उनी बताउँछिन् । पूजा अहिले भेज र नन भेज गरी करिब १६ प्रकारका अचार बनाउँछिन् । बिना मेसिन पूर्ण रुपमा हातैबाट बन्ने भएकाले पनि उनको अचारमा विशेष घरेलु स्वाद आउने गर्छ । त्यसैले त सबैको जिब्रोमा अचार मात्र होइन स्वादिलो ‘डटर्स होम अचार’ परिसकेको छ । ‘अहिले व्यवसायिक रुपमा शुरु गरेर धेरै नाफा त गरेको छैन, थोरै मात्रामा उत्पादन र थोरै नाफा राखेर काम गरिरहेकका छौं, ग्राहकको प्रतिक्रिया पनि राम्रै आइरहेको छ, विस्तारै यसलाई नै बढी प्राथमिकता दिएर काम गर्छौं’, उनले भनिन् । पूजाले सुरुमा अचार बनाउनमा करिब ५० हजार रुपैयाँ लगानी गरेको बताउँछिन् । अहिले उनको दैनिक कारोबार ५ सयदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । ‘अहिले अचारको माग पनि राम्रै छ, अब हामी केहि विशेषज्ञ राखेर विशेष अचार बनाउने तर्फ केन्द्रित हुँदैछौं, उनी भन्छिन्, ‘अहिले हाम्रो मुख्य विशेषता भनेको ताजा, स्वच्छ अनि स्वादिष्ट अचार प्रधान गर्नु हो ।’ अहिले निषेधाज्ञाको समयमा पनि एकदम सुरक्षित तरिकाले काठमाडौं उपत्यका भित्र मात्र सेवा दिइरहेको उनले बताइन् । जनजीवन सामान्य अवस्थामा फर्किएपछि माग अनुसार देशभरी तथा बाहिर पनि पुर्याउने उनको सोच छ । होष्टल व्यवसायसँगसँगै अब विस्तारै अचार व्यवसाय विस्तारमा पनि समय दिने उनको योजना छ । उनी भन्छिन्,‘ हुनत धेरैले लकडाउन भन्दै घरभित्रै बसे तर घरभित्रै पनि इच्छा छ भने धेरै सीप सिक्न सकिन्छ, जसले आत्मर्निभर बनाउन मद्दत गर्छ ।’ अहिले नेपालमा मात्र होइन विश्वभर कोरोना भाइरसको त्रास छ । सर्वसाधारणदेखि उद्योगी व्यवसायीको दैनिकी फेरिएको छ भने व्यवसाय ठप्प छ । कोरोना हट्ला र आफ्नो काम गरौंला भन्ने मनसाय धेरैले बनाएका छन् । तर कोरोनाको असर कति र कहिलेसम्म रहन्छ कसैलाई थाहा छैन । त्यसैले यही अवस्थामा पनि आफुले आत्मनिर्भर हुन सक्ने योजना बनाएर काम गर्नु पर्ने पूजा सल्लाह दिन्छिन् ।

भोटोजात्राको कथा

ललितपुर । किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्दथे । त्यो नागका राजा कर्काेटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मल्हम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥यो’ भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । लोकेश्वरको रथ ३२ हात ४८ फिट अग्लो हुन्छ । वृष्टिदेवको रथ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठ र मीननाथको रथ टङ्गालको ज्येष्ठ बहाल परिसरमा बनाउने गरिन्छ । मच्छिन्द्रनाथको रथ राजा बरदेवले बनाउन लगाए भने मीननाथको रथ अंशु बर्माका भाइ राजा बालाचरणको पालादेखि बनाउन शुरु गरिएको थियो । मच्छिन्द्रनाथलाई लोकेश्वर त मीननाथलाई जटाधारी लोकेश्वरका नामले पुकारिन्छ । विसं ६५० मा मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथ तान्ने प्रचलन अघि बढेको पाटन सुन्धरा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई महास्नान गर्ने परम्परा रहेको छ भने यसैगरी हरेक वर्ष वैशाख कृष्णपक्ष प्रतिपदाका दिनमा मीननाथलाई दिउँसो महास्नान गराइन्छ, मच्छिन्द्रनाथलाई करुणामय भनिन्छ भने मीननाथलाई धर्म र पाप छुट्याउने पितृका राजा भनिनुका साथै धर्मराज वा यमराजका नामले पुकारिन्छ ।” सत्ययुगमा यमराजले मत्स्य अवतार मीन रुप लिई सुखावती भुवन मत्र्यमण्डलबाट नेपाल आई मीननाथ लोकेश्वर भनी प्रख्यात भएको किंवदन्ती रहेको छ । रातो मच्छिन्द्रनाथको जात्रालाई पाटनको ठूलो उत्सवका रूपमा हिन्दूलगायत बुद्ध धमावलम्बीले मनाउने गर्थे । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यो जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । मच्छिन्द्रनाथ पूजाका लागि ३१ पनेजु गठन भएका छन् तर भगवान्सहित जोडेर ३२ पानेजु सङ्घ भन्ने गरिन्छ । ती ३१ पानेजुले पालैपालो सहकालका देवताको पूजाआजा र रेखदेख गर्दै आएका पनि छन् । यस वर्ष एक्लो आइमाइले रथ तान्ने र नरिवल खसाल्ने काम आदिसमेत नहुने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटन बसिसक्नुभयो । रासस