दरबारमार्गमा खुल्याे एन्फा सोरुम, राष्ट्रिय टिमको आधिकारिक जर्सी र खेल सामाग्री बेचिने
काठमाडाैं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रायाेजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।
‘ला लिगा’ डिशहोमबाटै प्रशारण हुने, सिजन हेर्न टिकट किन्नु पर्ने
काठमाडौं । ला लिगा फुटवल लिग सिजन २०२१-२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् । डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नु पर्ने हुन्छ । डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजैदेखि सम्पर्क गर्न सक्नेछन् । हाल डिशहोमको ग्राहकलाई उपलव्ध रहेको ला लिगाको सिजन टिकट छिटै सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुनेछ । बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता संसारकै उत्कृष्ट क्लवहरु खेल्ने र सबै भन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि रामै्र रहेको छ । नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस्ले यस अघि पनि फिफा वल्र्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरिय प्रतियोगीताहरु सफलता पुर्वक प्रशारण गरिसकेको छ । नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीहरुले उत्कृष्ट प्रतियोगीताको मनोरञ्जन लिन सक्ने अपेक्षा डिशहोमले लिएको छ ।
पूर्व मुख्यसचिव भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक
काठमाडौं । साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’की प्रमुख पात्र इन्द्रमायालाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रमाया’ उपन्यासमाथि समालोचकद्वय साधना प्रतीक्षा र महेश पौड्यालले टिप्पणी गरेका थिए । समीक्षक साधनाले बीपी कोइरालाको उपन्यासकी एक विद्रोही र सचेत पात्र इन्द्रमायालाई भोजराज घिमिरेले पुनः सशक्त जीवन दिएको बताइन् । उपन्यासको भाषा, शिल्प र कला पक्षमा टिप्पणी गर्दै साधनाले इन्द्रमाया नेपाली समाजको समग्र चित्र भएको उल्लेख गरिन् । अर्का समीक्षक महेश पौड्यालले इन्द्रमायामा बीपीकी प्रिय पात्र इन्द्रमायालाई भोजराज घिमिरेले अत्यन्त न्याय गरेको बताए । पौड्यालले पूर्वकथा र पूर्वपात्रहरूललाई नयाँ परिवेशमा नयाँ शिल्प र सौन्दर्यका साथ प्रस्तुत गर्ने काम सजिलो नभए पनि भोजराज घिमिरेले उठाएको जोखिम प्रशंसनीय भएको उल्लेख गरे । साहित्यकार एलबी क्षत्रीले ऐतिहासिक पात्र र कथनको नयाँ निर्माण रोचक र जानकारीमूलकका साथै जीवन्त हुने धारणा राखे । प्रस्तुतिको शिल्प र कोणले हरेक पुराना पात्र र कथा नयाँ रूपमा आउन सक्ने उनको भनाइ थियो । बीपी कोइरालाकी पात्र इन्द्रमाया पनि जुनकुनै लेखकले आफ्नो पात्र बनाएर प्रस्तुत गर्न सक्ने पात्र भएको उनले बताए । समीक्षक तथा पुस्तक ‘इन्द्रमाया’का सम्पादक घनेन्द्र ओझाले लामो समय सरकारी सेवामा बिताएर उच्चप्रशासक र कुशल कूटनीतिज्ञका रूपमा सफल भोजराज घिमिरे अवकासपछि पूर्णकालीन लेखक भएका र उनका हरेक वर्षजसो नयाँ कृति आइरहेका उल्लेख गरे । यसअघि नै गीत, गजलका पुस्तक र एल्बम प्रकाशन गरिसकेका घिमिरेको दोस्रो आख्यानकृति इन्द्रमाया भएको बताउँदै ओझाले इन्द्रमायामा घिमिरेले ५० वर्षअघिको नेपाली सामाजिक, राजनीतिक परिवेशका साथै लैंगिक विभेद, कर्मचारीतन्त्रको अवस्था, महिला र पुरुष दुवैको सूक्ष्म यौन मनोविज्ञान प्रस्तुत गरेको बताए । त्यसबेलाको समाजमा रहेको उच्चमानवीयताको उदाहरण पनि इन्द्रमायाका पात्रहरूमार्फत् देखाएको ओझाको भनाइ थियो । गीतकार, कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले बीपीका कृतिलाई पर्गेलेर बीपीका पात्रहरूलाई टिपेर सुन्दर शिल्पमा सर ढंगले लेख्न सक्नु घिमिरेको विशेष खुबी भएको बताए । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो कालखण्ड सरकारी सेवामा बिताएर निवृत्त भएको एउटा व्यक्तित्वले अवकासपछिको सम्पूर्ण उलर्जा र समय साहित्यमा लगानी गर्नु साँच्चै उदाहरणीय भएको बताए । कुलपति उप्रेतीले भोजराज घिमिरेको अध्ययन, अनुसन्धान गर्ने जाँगर र परिमार्जन अनि परिष्कार गरिरहने स्वभावले नेपाली साहित्यमा नयाँ चिज आइरहने धारणा राखे । उपन्यासकार घिमिरेले आफ्नो रुचि र समय कटाउने सबै कुरा अहिले लेखन नै भएको उल्लेख गर्दै कविताबाट गीत, गजल हुँदै अहिले आख्यानमा सक्रिय रहेको बताए । बीपीका कृतिहरू र तिनका पात्रबाट आफू धेरै नै प्रभावित भएका कारण यो पुस्तक लेखिएको उनको भनाइ थियो । शिखा बुक्सले प्रकाशन गरेको इन्द्रमायाको मूल्य ४९९ रुपैयाँ छ ।