पाँच लाख रूपैयाँसहित जुवाखालबाट आठ पक्राउ
काठमाडौं । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो । कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति
फाइल फाेटाे काठमाडाैं । करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई १६ लाख रूपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए । चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ । समितिले किरिया खर्चबापत रु एक लाख आइतबार उपलब्ध गराउने र बाँकी रु १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ । करेन्ट लागेर सोही ठाउँका अन्य दुईजना घाइते भएका थिए । घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ । विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ ।
टिकटक स्टार रियालिटी शो हुने, विजेताले कार पाउने
काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरी शर्माले बताए । शिखर नेपाल प्रा.लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् ।