भिमसेन मन्दिरको छानो छाउनका लागि श्रमदान आह्वान, सवा ४ करोड लगानी लाग्ने

काठमाडाैं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइएको सो मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताए । जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिइन् । उनले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गरिन् । यो मन्दिर पुनर्निर्माणका लागि करिव ४ करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हिराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गर्नु भएको थियो भने माटोका लागि आवश्यक बजेटको व्यवस्था अर्का स्थानीय व्यापारी कल्याणजीत ताम्राकारले गरेका थिए । यो मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले १ करोड, एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड सहयोग गरेको पनि मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ ।

हाम्रो आरम्भले सम्पन्न गर्यो मौन र्याली, जहाँ आफै बोल्यो प्लेकार्ड (तस्विरसहित)

काठमाडौं । हाम्रो आरम्भले ‘महिलाको लागि सेनेटरी हेरचाह’ मूल नाराका साथ एकदिने मौन र्याली सम्पन्न गरेको छ । कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम) को सामाजिक क्लब हाम्रो आरम्भले कलेजको नेतृत्वमा उक्त र्याली आयोजना गरी सम्पन्न गरेको हो । उक्त र्याली मंसिर ११ गते डिल्लीबजारदेखि बसन्तपुरसम्म गरिएको थियो । जहाँ सीबीएम कलेजका विद्यार्थी, शिक्षक र अन्य धेरैको उपस्थिति रहेको थियोे । उपस्थित सबैले विभिन्न प्लेकार्ड बोकेर मौन र्याली गरेको देखिन्छ, जुन आफै बोलेको छ । जस्तै, दिदी बहिनीलाई उपहार के ? मेन्स्ट्रुअल कप, अबको यात्रा मेन्स्ट्रुअल कपको साथमा, अब नि सेनेटरी प्याड ?, गिभ योर सिष्टर अ मेन्स्ट्रुअल कप, परिवर्तन सम्भव छ भन्ने जस्ता प्लेकार्डहरु र्यालीमा सहभागी भएकाहरुको हातमा देख्न सकिन्छ । त्यस्तै, सेनेटरी प्याड मात्रै विकल्पको होइन भन्ने र्यालीको मूख्य उद्देश्य रहेको क्लबकी अध्यक्ष अंकिता अधिकारीले बताएकी छिन् । यसको विकल्पमा हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपलाई लिन सकिने उनको भनाई छ । ‘सेनेटरी प्याड मात्रै नभई, उपयुक्त विकल्पको रूपमा सेनेटरी कपलाई पनि लिन सकिन्छ भन्ने बारेमा जनचेतना फैलाउन यो मौन र्यालीको आयोजना गरिएको हो,’ अध्यक्ष अधिकारीले भनिन् । त्यस्तै, नेतृत्वको भूमिका खेलेको सीबीएम कलेजका प्राचार्य एवम चार्टर एकाउन्टेन्ट सुमन न्यौपानेले विद्यार्थीको प्रस्ताव बमोजिम उक्त र्यालीको नेतृत्व गरेको बताएका छन् । विद्यार्थीले हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपको बारेमा र्याली गरेर थोरैलाई नै भएपनि जानकारी दिऔं भन्ने प्रस्ताव गरेको न्यौपानेले जनाए । ‘र्यालीमा १०० जनालाई भेला गराई, २०० जनासम्म सन्देश पुर्याउन सके ३०० जनाले सेनेटरी कपको बारेमा शिक्षा पाउन सक्छन् भन्ने विद्याथीको प्रस्ताव थियो, र यो मौन र्याली गर्यौं, जुन प्रभावकारी बनेको छ,’ न्यौपानेले बताए । तस्विरमा यस्तो देखियो

एकदिने रक्तदान क्याम्पमा १६३ जनाले दिए रक्तदान

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसले आयोजना गरेको ‘बृहत रक्तदान कार्यक्रम’ मा १६३ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै वाईआरसी एनसीसीले उक्त एकदिने कार्यक्रमको आयोजना गरेको हो । वाईआरसी एनसीसीले मंसिर १० गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । वि.स. २०४९ सालमा स्थापित यु रे स नेपाल कमर्श क्याम्पसले स्थापित कालदेखि नै हरेक ३-३ महिनाको अन्तरालमा निरन्तर रुपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । योभन्दा अगाडिको जस्तै शुक्रबारको कार्यक्रममा पनि क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो । प्री प्लानसँगै टीममा काम गर्ने भएर पनि हरेक कार्यक्रम सफल हुने गरेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष कुशल बस्नेतले बताए । ‘हामी व्यवस्थापनको विद्यार्थी, हरेक कुरा प्रि प्लान गरेर टिममा काम गर्छौं, त्यसैले पनि हाम्रो हरेक कार्यक्रम सफल रुपमा सम्पन्न हुने गर्छ,’ उनले भने । त्यस्तै, आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।