‘मन नेपालमा, रोजीरोटी प्रवासमा’
भारत । ‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।’ पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसंग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ। सानो छँदा तनहुँको मिर्लुङस्थित चन्द्रावती खोलामा साथीसङ्गीसँग खेलेको र नुहाएकोदेखि अनेक स्मरणहरु उनका मानसपलटमा ताजा भएर आउने गर्छ । उनी प्रवासमा रहँदा वा जुनसुकै मुलुकमा पुग्दा नेपालको परिचय नलुकाई व्यक्त गर्ने गर्दछन् । अहिले उक्त खोलामा पक्की पुल बनेर सतिश्वरा र मिर्लुङ जोडिएका जस्ता प्रगतिका कुराले प्रवासमा रहँदा पनि क्षेत्रीको छाती गर्वले फुल्ने गर्छ । यहाँका राइपाली भञ्याङ, बयापानी भञ्याङ, मिर्लुङकोट, छहरे, ठुलढुङ्गा आदि स्थलहरूलाई थप पर्यटकीय बनाउन के गर्न सकिन्छ भन्ने चासो उनलाई बरोबर भइरहन्छ । ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि’ नाट्यसम्राट बालकृष्ण समले भनेझैँ विकसित मुलुक भारतमा रहे पनि प्रवासी नेपालीलाई नेपालप्रतिको माया र सम्मानमा कुनै कमी आएको देखिँदैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घासमेत रहेको भानु नगरपालिका–१३ मा जन्मिएका क्षेत्री चार दशकदेखि प्रवासमा रहे पनि हरेक कूलदेवता पूजा र बडादसैँमा सकेसम्म परिवारसहित लामो यात्रा तय गरेर गृहजिल्ला तनहुँमा आउने गर्छन् । ‘के लजिष्टिक्स्’ र ‘क्षेत्री इन्टरप्राइजेज’ का सञ्चालक क्षेत्रीले गत साता बेहलास्थित कम्पनीको कार्यालयको भेटमा आफ्ना नेपालप्रेमी भावना यसरी पोखे, ‘नेपालीबीच जहाँ रहे पनि आपसमा प्रेम र सामूहिक भाव छ । प्रवासमा हुने सामाजिक क्रियाकलापले यहाँका नेपालीबीच अझ बढी भाइचारा हुने गरेको छ। नेपालबाट कोही पाहुना आउँदा हामीलाई भगवान् आएजस्तो लाग्छ । यता बसेर पनि देशको विकासको चासो गरिहरहन्छौँ । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कुराले मनै अमिलो बनाउने गर्छ । नेताहरुले यो दर्द बुझेर देश विकासको काम गरिदिए हुन्थ्यो ।’ नेपाली कांग्रेसको राजनीतिमा पनि संलग्न क्षेत्री यहाँस्थित विभिन्न सामाजिक गतिविधिमा अगुवाइ गर्न पछि पर्दैनन्। हरेक बडादसैँका अवसरमा नवरात्र सुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिने कार्यक्रम हुँदै आएको छ। सांस्कृतिक परम्पराको निरन्तरताका साथै उनीहरुको देशभक्ति हरेक क्षणमा प्रकट भइरहेको हुन्छ । गत वर्ष सेवा समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरिनु त्यसैको एक ज्वलन्त उदाहरण हो । यहाँ नेपाली जनकल्याण समिति, कोलकोताले मनाउने भानु जयन्तीका कार्यक्रम, साहित्यिक पत्रिका प्रकाशनदेखि नेपालीभाषी र प्रवासी नेपालाई आपत्विपत् पर्दा क्षेत्रीसहितको व्यावसायिक समूहले आर्थिकलगायत सहयोग गर्दै आएको छ । गोर्खा भूकम्पका समयमा प्रवासी नेपालीको समन्वयमा नेपालमा ५२ लाख रुपैयाँ बराबरको सहयोग पठाइएको थियो भने मेलम्ची बाढीपीडितका लागि छ लाख प्रदान गरिएको थियो। अहिले पनि उपचार नपाएर प्रवासमा भौँतारिएका र बेरोजगार भएर गुजारा चलाउन मुस्किल पर्ने नेपालीका लागि प्रवासी नेपाली संस्था र व्यावसायिक व्यक्तिहरूको समूहले सामाजिक सञ्जालकै सूचनाका भरमा आवश्यक प्रबन्ध र सहयोग जुटाउँदै आएको छ। कोलकोतामा नेपालीभाषीहरू चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इन्जिनियरिङ पेसामा समेत संलग्न छन् । व्यवसायी क्षेत्रीकै संयोजकत्वमा ‘संयुक्त नेपाली वेलफेयर ट्रष्ट’ले न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा करिब भारु ३० लाखको लागतमा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माणकार्य सुरु गरिएको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ। भारत–नेपाल सांस्कृतिक भवन बनाउन अत्यन्त आवश्यक भएको यो भवन बनेमा दुवै देशलाई लाभ हुने भएकाले यसको निर्माणमा दुवै देशका सरकारले सहयोग गर्नुपर्ने नेपालीभाषीहरूको आग्रह रहेको छ । भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू गरेपछि विगतमा जस्तो प्रवासी नेपालीले सहजरूपमा पेसा– व्यवसाय गर्न नपाउने हो कि भन्ने चिन्ता पैदा भएको छ। दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्ने सवालमा यदाकदा कानुनी समस्या र झन्झट आइलाग्ने गरेका छन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष खिमराज बराल सन् १८१६ मा नेपाल र तत्कालीन ‘इष्ट इन्डिया कम्पनी’बीच भएको सुगौली सन्धिका प्रावधानबमोजिम नेपालीले सहजताका साथ भारतमा पेसा व्यवसाय गर्न पाउने बताउँदै यसबारे सार्वजनिकरूपमा दुवै देशका सरकारी र जनस्तरका तहमा र अहिलेका पुस्तालाई पनि जानकारी नभएमा कसैले अनावश्यक दुःख खेप्नु नपर्ने धारणा राख्छन् । उनले उक्त सन्धिको मर्मअनुसार प्रवासी नेपालीले सहजताका साथ यहाँ पेसा व्यवसाय गर्न पाउनुपर्ने सवालमा आफूहरुले सहजीकरण गर्दै आएको र कोलकातामा एक ‘भारत–नेपाल सांस्कृतिक भवन’ निर्माणको लक्ष्यलाई सार्थक बनाउन लागिपरेको सुनाए । प्रवासी नेपालीले कोलकोताको कुनै सडकलाई आदिकवि भानुभक्त आचार्यको नामाकरण गराउन यहाँको प्रदेश सरकारलाई सहमत पनि गराइसकेका छन् । यहाँ नेपालीभाषी र बङ्गाली भाषी समुदायबीच आत्मियता र प्रेमभावका साथ जनस्तरमा सम्बन्ध पनि जोडिएको छ । उनीहरु आपसमा एकाकार भएर सामाजिक गतिविधिमा जोडिने गर्ने गरेका छन् । प्रवासी नेपाली संघ, भारतका केन्द्रीय अध्यक्ष एवं भारत–नेपाल जनमैत्री मञ्च, कोलकाताका संस्थापक अध्यक्ष साहित्यकार नारायणप्रसाद होमगाईँ नेपालबाट यहाँ आएर काम गर्ने र बसोबास गर्नेहरु अधिकांश प्रवासी नेपाली रहेको र उनीहरुको मूलथलो नेपाल नै भएको स्पष्ट पारे। एक निजी कम्पनीको वरिष्ठ लेखा अधिकृतबाट अवकाशप्राप्त उाले दार्जिलिङ र सिक्किमतिर बढी मात्रामा नेपालीभाषी भारतीय भए पनि कोलकातामा प्रवासी नेपाली धेरै रहेको जनाउँदै प्रवासी सङ्गठनहरुबीच कुनै प्रकारको राजनीतिक खिचातानी नभई आपसी सद्भाव र एकता होस् भन्नेमा सचेत रहेको जनाए। उनले आफूहरुले विगतमा जस्तो दुई देशबीचका राजनीतिक मुद्धामा माग उठाउने र विवाद गर्नेजस्ता काम पनि अब नगर्ने स्पष्ट पार्दै भाषा र संस्कृतिलाई राजनीतिक सीमाले नबाँध्ने बताए। अध्यक्ष होमगाईँले नेपाल जाँदा भारु २५ हजार मात्र लान पाइने, भारतको एटिएम कार्ड नेपालका बैंकमा नचल्नेजस्ता व्यवहारिक समस्या औँल्याउँदै हालै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीमा सझदारीपत्रमा हस्ताक्षर भएबमोजिम सीमापार विद्युतीय कारोबार (क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन)को छिटो कार्यान्वयनमा जोड दिए। बडाबजारस्थित ‘मेटल फिनिसिङ’ व्यवसाय गर्दै आएका प्रवासी नेपाली चन्द्रबहादुर श्रेष्ठ आफूले हालसम्म ६०–७० जना नेपालीलाई यता ल्याएर रोजगारी र व्यवसायमा लगाएको, सीपमूलक तालिम दिलाएको र आनन्दमय जीवनयापनका उपायबारे उत्प्रेरणा पनि दिने गरेको बताउँछन् । ‘नेपालमा काम नपाएर वा अभिभावकलाई दुःख दिएर बसेका कोही युवाहरू छन् यहाँ आउन चाहेमा हामी सीप विकाससहित आदत सुधार गराइदिन सक्छौँ । हामीले हाम्रो पालामा निकै ससंघर्ष गरेका छौँ। अबको बाँकी जीवन नेपाल र नेपाली तथा मानव कल्याणका लागि दिन तयार छौैँ’, पुख्र्यौली घर रामेछाप भएका श्रेष्ठले भने। नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार एवं साहित्यकार धर्मराज बराल प्रवासी नेपाली र नेपालीभाषी भारतीय दुवै देशका सांस्कृतिक सहचरी भएकाले उनीहरूको भावनाको सम्मान गर्दै सामाजिक कार्यमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् । नेपालमा पर्यटक र लगानी भित्र्याउन सम्बन्धित सरकारी संयन्त्रले उपयुक्त योजना बनाई प्रवासी नेपालीको पनि साथ लिई कार्यान्वयन गर्न सकेमा नेपालको आर्थिक समृद्धिमा बल पुग्ने उनको भनाइ छ । कोलकोतास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको शाखाले दुई देशबीचको व्यापार, पारवहन र द्विपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले नेपालमा उत्पादन र भारतमा खपत हुनसक्ने चियालगायतका वस्तुको व्यापार प्रवर्द्धनका लागि दुई देशबीच भएका समझदारी र विद्यमान करका दायरालाई सहजीकरण गरिएको जानकारी दिए । प्रवासी नेपाली र नेपालीभाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरुले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ। गंगा आरती, बुद्ध जयन्ती, नयाँ वर्ष, हरितालिका (तीज), होली, महाशिवरात्रि, दीपावलीजस्ता पर्वमा यहाँ नेपाली र बङ्गाली समुदायबीच संयुक्त उत्सव पनि हुने गरेको छ । त्यसो त कोलकातामा नृत्य निर्देशनका क्षेत्रमा चम्किरहेका दिलीप थापाले समय–समयमा नेपालका कलाकार र नृत्य निर्देशकबीच भाइचारा बढाउँदै आएका छन् । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक संघ’ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा दुई सय १०औँ भानुजयन्ती मनाएको थियो । कार्यक्रममा भारतको पश्चिम बङ्गालका सहकारीमन्त्री अरुप रायको पनि उपस्थिति थियो । समितिले ‘बिहानी’ नामक वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ भने भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी दुई देशको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई जोड्दै आएको छ । रासस
नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी
नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा २५ करोड रुपैयाँ बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएको छ । ’यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भने, ’समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो ।’ उनले पश्चिम नेपालमा सिनेमा रुचाउनेहरुका लागि नेपालगञ्जसम्म आउने माध्यमका रुपमा सिने रोयल हुने अपेक्षासहित भारतीय सीमावर्ती जिल्लाका लाखौँ दर्शकलाई यसले आकर्षित गर्ने आशा व्यक्त गरे । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउन्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन स्क्रिनसहितको मल्टिप्लेक्स हल तयार गरिएको सञ्चालक डा थापाले जानकारी दिए । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेएका उनको योजना र लगानीमा नेपालगञ्जमा यो सुविधासम्पन्न हल निर्माण भएको हो । नेपालगञ्ज–१० आदर्शनगरमा हलसँगै तत्काललाई क्याफ्टेरिया पनि सुरु गरी यो स्थानमा बिस्तारै विभिन्न शपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा थापाले जानकारी दिए । सिनेमा हल निर्माणका टोली नेता किरण ढकालले सिने रोयल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउन्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन’मा आधारित रहेको बताए । सिनेरोयलमा तीनवटा स्क्रिन छन् । छ सय ५० दर्शक क्षमता भएको सिनेरोयलका दुईवटा प्रतिहल दुई सय ५० क्षमता तथा तेस्रो हल एक सय ५० सिट क्षमताका छन् । बेल्जियमबाट प्रोजेक्टर र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली जडान गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले सिने रोयललाई नेपालगञ्जको गौरवका रुपमा लिनुपर्ने बताए । यसले नेपालगञ्जको पर्यटनलाई ठूलो टेवा दिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिने रोयलजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताए । सिने रोयल सञ्चालनमा आउनु नेपालगञ्जका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै उनले नेपाललगायत भारतबाट समेत यहाँ आउने दर्शकले नेपालगञ्ज बजारलाई चलायमान गराउने विश्वास गरे । रासस
त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत प्रस्थान
काठमाडौं । भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टिम हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।