आफ्नै कर्मचारीको उपचार अन्यत्र गराउन परेपछि ठूला निजी अस्पताल सासु कोषमा, घट्ला उपचार शुल्क ?
काठमाडौं । निजी लगानीमा सञ्चालित मेडिसिटी, ग्राण्डी लगायतका ठूूला अस्पतालले सामाजिक सुरक्षा कोषले व्यवस्था गरेअनुसार स्वास्थ्य उपचारको सहुलियत दिने गरी कोषमा आबद्ध हुने भएका छन् । उपचारमा सहुलियत दिने गरी कोषले निजी लगानीका ठूला अस्पतालसँग सम्झौता गर्न लागेको हो । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिने स्वास्थ्य उपचार सुविधा अस्पतालमार्फत नै उपलब्ध गराउन थालेको छ । त्यसका लागि कोषले अस्पतालसँग सम्झौता गरी स्वास्थ्य उपचारमा भएको खर्चको भुक्तानी दिन्छ । तर, सरकारले तोकेको शुल्कमा स्वास्थ्य उपचार गर्नुपर्ने भएपछि निजी लगानीका ठूला अस्पतालले सामाजिक सुरक्षा कोषको सुविधामा आबद्ध हुन मानिरहेका थिएनन् । निजी लगानीका ठूला अस्पतालमा कार्यरत कर्मचारीहरु भने सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । तिनै कर्मचारीहरु बिरामी पर्दा कोषको सुविधा लिनकै लागि अन्य अस्पतालमा उपचार गराउन जानुपर्ने अवस्था बनेपछि निजी अस्पतालले पनि कोषसँग सम्झौता गर्न लागेको कोषका प्रवक्ता विवेक पन्थीले बताए । अहिले ग्राण्डी, मेडिसिटी, ह्याम्स लगायतका अस्पतालमा कार्यरत श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । यसअघि अस्पतालमा उपचार गरेको बिल बुझाएको आधारमा योगदानकर्ताले उपचार खर्च पाउँदै आएका थिए । तर, कोषले अस्पतालबाटै भुक्तानी दिने व्यवस्था गरेपछि निजी लगानीका अस्पतालमा कार्यरत कर्मचारीले सुविधा लिन अप्ठ्यारो भएको थियो । ‘हामीले यसअघि नै उहाँहरुलाई आवद्ध हुन आग्रह गरेका थियौँ, तर उहाँहरुले आनाकानी गर्नुभएको थियो’, प्रवक्ता पन्थीले भने, ‘आफ्नै कर्मचारीको समेत अन्य अस्पतालमा उपचार गराउनुपर्ने भएपछि उहाँहरु बाध्य भएर कोषमा आवद्ध हुन लाग्नुभएको हो ।’ निजी अस्पतालका नियमित ग्राहक समेत भड्किएपछि बाध्य भएर कोषसँग आवद्ध हुन लागेको पन्थी बताउँछन् । ‘अहिले अधिकांश ठूला कर्पाेरेट हाउसहरु कोषमा आवद्ध भैसकेका छन् । ठूला कर्पोरेट हाउसका कर्मचारी पनि उपचारको लागि कोषले तोकेकै अस्पतालमा जाने भए । त्यही कारण निजी लगानीका ठूला अस्पताल पनि कोषसँग आवद्ध हुन चाहेको पन्थीले बताए । सस्तो होला उपचार शुल्क ? सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई एक वर्षमा एक लाख रूपैयाँ बराबरको स्वास्थ्य उपचार सुविधा दिएको छ । तर, कोषले अहिलेसम्म स्वास्थ्य सेवाको शुल्क भने तोकेको छैन । स्वास्थ्य बीमा बोर्डले तोकेको दर नै कोषले स्वीकार गरेको छ । स्वास्थ्य बीमा बोर्डले तयार पारेको सूची अनुसार इमजेन्र्सीको उपचारमा टिकटको शुल्क ४ सय र ओपिडीको शुल्क २ सय रुपैयाँ रहेको छ । कोषमा आवद्ध भएका अस्पतालले बोर्डले सार्वजनिक गरेको दरअनुसार मात्रै रकम दाबी गर्न पाउँछन् । बोर्डले तोकेको भन्दा कम रकममा ओपीडीको टिकट काटिरहेको अस्पतालको हकमा भने टिकटको मूल्यअनुसार नै भुक्तानीका लागि दावी गर्छन् । बीमा बोर्डले तयार गरेको सूची अनुसार एक्सरेको १५०, दात एक्सरेको १००, इसीजीको २००, २४ घन्टे अक्सीजन जडानको २५०, इको कार्डियोग्राफको एक हजार ५० रूपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी, सिटी स्क्यानको ५ हजार, टाउकोको स्क्यान ३ हजार, रेडियोथेरापीको २४ हजार, किमोथेरापीको प्रतिदिन ७ सय र मिर्गाैला प्रत्यारोपणको ७२ हजार शुल्क तोकिएको छ । अस्पतालहरुले सोही अनुसार विरामीको उपचार पश्चात कोषसँग भुक्तानी दावी गर्न सक्छन् ।
‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक
काठमाडौं । उमंग क्रियसनको आयोजनामा एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । शनिबार आयोजित एक समारोहका बिच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् । जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागीता रहेको थियो । २२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागीता रहेको छ । एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए । उनले विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको बताए । प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठको सहभागीता रहेको थियो । २२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।
पुल्चोक म्युजिक फेस्टमा द एलिमेन्ट्स र पहेलो बत्ती मुनीको प्रस्तुति
काठमाडौं । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले म्युजिक फेस्ट आयोजना गर्न लागेको छ । आगामी शुक्रबार पूल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा म्युजिक फेस्ट आयोजना गर्न लागिएको हो । पुल्चोकमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले गठन गरेको म्युजिक क्लब तथा रिसर्च सेन्टरले सोही क्याम्पसका विद्यार्थी र अन्य व्यक्तिहरुको सहभागीता हुने गरी म्युजिक फेस्ट आयोजना गर्न लागेका हुन् । पुल्चोक म्युजिक फेस्टमा सांगीतिक समूह द एलिमेन्ट्स, पहेलो बत्ती मुनी लगायतले सांगीतिक प्रस्तुती गर्नेछन् । उक्त सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको आयोजकले बताएको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पस अध्ययनरत विद्यार्थीका १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने क्याम्पस बाहिरका तर, सुरूमै टिकट लिनेहरुले २५० र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम शुक्रबार दिउँसो १ बजेपछि सुरु भएर राती ९ बजेसम्म चल्ने बताइएको छ । सांगीतिक ब्याण्डका अलवा कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पससहित अन्य विभिन्न क्याम्पसका विद्यार्थीहरुको पनि प्रस्तुती रहने बताइएको छ । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।