जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
काठमाडौं। यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उनले बताए। रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ । ‘हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ, यस वर्षको जस्तो तिथिको अवस्था विगत वर्षमा पनि परेको थियो, विसं १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि यस्तै तिथिको अवस्था परेको थियो, उक्त वर्षमा एक घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनैपूर्णिमा मनाइएको थियो, धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने परम्परासमेत रहिआएको छ, भदौ १४ गतेका दिन पूर्णिमा तिथिको घट्यादि तीन मुहूर्तव्यापी छ, यसको विकल्प दुई मुहूर्त भए पनि पुग्छ, विधि निषेधको न्यायद्वारा अघिल्लो दिन उक्त पर्व मनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न’, अध्यक्ष अधिकारीले भने । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने समितिको भनाइ छ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सबैलाई रहेको सूचना समितिबाट स्वीकृत सबै पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु हुँदैन । कालिका पुराणमा भनिएको छ– संप्राप्तवान् श्रुतीर्ब्रम्हा पर्वण्यौदयिके पुनः । अतो भूतदिने तस्मिन्नोपाकरणमिष्यते ।। अघिल्लो दिन भद्रा पर्ने भएकाले एक घडीमात्र भए पनि भोलिपल्ट उदय पूर्णिमाका दिन रक्षाबन्धन गर्नु पर्दछ । भद्राको समयमा बाँच्न चाहनेले कुनै पनि माङ्गलिक कार्य गर्नु नहुने ज्योतिष शास्त्रको मुहूर्त चिन्तामणि नामक ग्रन्थको शुभाशुभ प्रकरणमा उल्लेख गरिएको छ । मुहूर्त चिन्तामणि ग्रन्थमा भनिएको छ– नकुर्यान्मङ्गलं विष्ट्यां जीवीतार्थी कदाचन । कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्व नाशतां व्रजेत् ।। शास्त्रका उल्लिखित वचनअनुसार पनि भदौ १४ गतेको जनैपूर्णिमामा दुई मुहूर्त न्यून पूर्णिमा नभई तीन मुहूर्त व्यापिनी अर्थात् पाँच घडी १८ पला पूर्णिमा भएकाले पूर्वदिनमा उपाकर्मादि कृत्य गर्नु शास्त्रसम्मत नदेखिने समितिको ठहर छ । उपाकर्म र रक्षाबन्धनलाई अलग अलग कृत्यका रूपमा स्वीकार गर्ने शास्त्रीय परम्परा छैन । उदय पूर्णिमाकै दिन अर्थात् भदौ १४ गते गुरुबारका दिन नै जनैपूर्णिमासित सम्बन्ध सम्पूर्ण कृत्यहरू गर्न शास्त्रसम्मत र परम्परा अनुमोदित विषय देखिने वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए । कुनै भ्रममा नपरी पञ्चाङ्गमा उल्लेख भएअनुसार बिहीबारकै दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रा पर्व पनि मनाउन समितिले आज जारी गरेको अपिलमा उल्लेख छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेशानुसार चाडपर्व र तिथिमितिको निर्णय गर्ने अधिकारअनुसार यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । रासस
सिपालु गृह श्रमिकका फेरिएका दैनिकी
काठमाडौं । वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आएकी छन्। उक्त कार्यबाट उहाँले मासिक ४० हजारसम्म आम्दानी गर्छिन्। श्रीमायालाई मासिक ४० हजार कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवान्लाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्छिन् । श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउँछिन् । जसलाई उनले प्रतिगोटा ५० मा बेच्दै आउनुभएको छ । बौद्धमा बस्ने श्रीमाया उमेरले ५० काटिसकेकी छिन् तर उनीमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ । श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउँछिन् । आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उनी खुसी छन् । श्रीमाया भन्छिन् –जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो अहिले पुरानै लयमा व्यापर फर्किएको छ । काम गर्ने उत्साह छ उनीमा प्रष्ट देखिन्छ । श्रीमाया आफ्नो कामप्रति खुसी छिन् । ‘शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने । सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ । यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए । अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ’, श्रीमायाले खुसी हुँदै विगत सुनाइन् । त्यस्तै काठमाडौंको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रुपमा काम गर्न पाउँदा दङ्ग छिन् । उनले सुरुमा एक्लै काम थालिन् । अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आएकी छन् । एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ । नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए । विस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वासबढ्दै गएको गजुलेल बताउँछिन् । ‘आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु’, खुसीका साथ उनले भनिन् । यद्यपी पछिल्लो समय उहाँलाई चिन्ता थपिएको छ । कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनीमा चिन्ता थपिएको हो । गजुरेलको समूहले गृह श्रमिकको रुपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ । उत्पादन गर्नुभएको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उनी बताउँछिन् । गजुरेलले भनिन्, ‘पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन ।’ उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन् । गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए हुन्थ्यो भन्छिन्, गजुरेल । त्यसैगरी, जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि विगत दश वर्षदेखि गृह श्रमिकको रुपमा काम गर्दै आएकी छन् । उनले स्वागतका लागि प्रयोग गर्ने खादा बनाउने काम गर्दै आएकी छन् । कोइराला घरमा बसेरै राम्रो आम्दानी हुनेभएपछि घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । खादा बनाउनका लागि मेहनेत र लगानी धेरै छ त्यसको आधारमा सामग्रीको बजार छैन भन्छिन्, उनी । ‘लामो समयदेखि गृह श्रमिकको रुपमा काम गरेकालाई सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस बासमा समस्या नहुने गरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो’, उनले स्थानीय सरकारसँग आशा व्यक्त गरिन् । गृह श्रमिककै रुपमा बूढानीलकण्ठमा विगत पाँच वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाइन् । प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउँदै आएकी उनले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताए । ‘झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ । जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ’, उनले भनिन् । तामाङका अनुसार विशेष गरी घर सजावटको लागि बढी प्रयोग हुने उक्त माला बनाउनका लागि कम्तीमा पनि दुई दिनको समय लाग्छ । यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ । एकल महिला उनलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ । तामाङ भन्छिन्, ‘कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिकरुपमा यसले बजार पाउन भने सकेको छैन ।’ गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उनले सरकारसँग आग्रह गरेकी छन्। तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उनले सुनाइन् । तामाङले बजार नपाउँदा १२ सय पर्ने माला पाँच सयमा बेच्दै आएकी छन् । पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेरभन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर काम गर्दै आएकी छन्। यसरी काम गर्दा थप ऊर्जा थपिने गृह श्रमिक चन्द्रिका भट्टराईले अनुभव सुनाइन् । गृह श्रमिकको अवस्था अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएओ) महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारको घर वा निजले छनोट गरेको स्थानमा बसेर पारिश्रमको लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ । आइएलओले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन् । जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन् । यो सङ्ख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख महिला छन् । नेपालको सन्र्दभमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् । होमनेट दक्षिण एसियाको अनुमान अनुसार दक्षिण एसियाका भारत, बङ्गलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक रहेका छन् । गत वैशाखमा होमनेट इन्टरनेस्नलको आयोजनामा काठमाडौंमा गृह श्रमिक सम्मेलन भएको थियो । जहाँ २९ देशका एक सय २७ जना गृह श्रमिक सहभागी थिए । होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताइन् । श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीकोे उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउनको लागि सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइन् । तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेक्सको स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौं उपत्यकाको अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाइन् । रासस ।
ओटीटीमा ‘महापुरुष’
काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिए । ‘चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ’, अध्यक्ष लामिछानेले भने । अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गरे। उनले भने, ‘हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गरेका छन्।