काठमाडौं । गुल्मीमा विद्युत लाइन विस्तार र व्यवस्थापनमा लापरबाही भएको भन्दै स्थानीयले प्रश्न उठाइरहेका बेला पछिल्लो आठ वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।
तीमध्ये पछिल्लो पाँच महिनामै चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार गत जेठमा मालिका–३ ह्वाङ्दीका सूर्यबहादुर थापा, असारमा धुर्कोट–५ गान्टारीकी हुमकला भण्डारी, भदौमा मदाने–४ बाउनपानीकी डालकुमारी खत्री र असोजमा धुर्कोट–५ सिमलचौरमा अधेरीखोलाका ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।
यसअघि २०७६ असोजमा छत्रकोट–६ की तुलसीदेवी घिमिरे, २०७७ मंसिरमा मुसिकोट–७ का धिरज कार्की, २०७८ वैशाखमा इस्मा–२ का प्रकाश मुखिया, असारमा रुरुक्षेत्र–१ का सुन्दर श्रेष्ठ र भदौमा मदाने–१ अग्लुङका विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको थियो ।
त्यस्तै, २०७९ वैशाखमा इस्मा–२ का गोकर्ण थापा र भदौमा धुर्कोट–४ का मानबहादुर राना, २०८१ असोजमा मालिका–२ दर्लिङकी माया रोका मगर र चैतमा मुसिकोट–७ पल्टारकी चन्द्रकला कुमाल तथा २०८२ असारमा मुसिकोट–२ काब्राचौरका यमलाल सापकोटा र धुर्कोट–७ द्वानेटाका झबिन्द्र घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको विवरणअनुसार यी घटनामध्ये तीन जनाको घरायसी विद्युत प्रयोगका क्रममा र तीन जनाको विद्युतीय धरापमा परेर मृत्यु भएको हो । बाँकी नौ जनाको मृत्यु विद्युत लाइन तथा संरचनासँग सम्बन्धित घटनामा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय पत्रकार तथा उपभोक्ता भरत पाण्डेले विद्युत लाइन विस्तार गर्दा मापदण्ड पालना नगरेका कारण दुर्घटनाको जोखिम बढेको आरोप लगाएका छन् ।
विशेषगरी खेतबारी हुँदै जथाभावी लाइन विस्तार गर्ने, नाङ्गा तार खुला छाड्ने तथा कतिपय स्थानमा किसानका रुख र बाँसका संरचनाको सहारा लिएर तार लैजाने गरिएको स्थानीय उपभोक्ताको गुनासो रहेको छ ।
चार वर्षमा १४ जना घाइते
विद्युत लाइन र पोल व्यवस्थापनसँग सम्बन्धित दुर्घटनामा पछिल्ला चार वर्षमा गुल्मीमा १४ जना घाइते भएको तथ्यांकले देखाउछ । २०८० भदौमा धुर्कोट–६ का राजेन्द्र कुँवर र इस्मा–६ बुल्मका मोती कुमाल, मंसिरमा इस्मा–५ मैदानका पदम बस्नेत करेन्ट लागेर घाइते भएका थिए ।
त्यस्तै, २०८१ जेठमा अर्घाखाँची छत्रदेव–८ नेटाका विजय परियार, असारमा रोल्पा सुनछहरी–४ का ओमप्रकाश घर्ती, भदौमा गुल्मीदरबार–७ गलामकोलका सागर कार्की, असोजमा मालिका–२ दर्लिङकी माया रोका मगर र चैतमा मुसिकोट–२ का कर्णबहादुर माझी घाइते भएका थिए ।
२०८३ वैशाखमा रुपन्देही देवदह–७ का ज्योति दुबे र भागिर दुबे, जेठमा मालिका–४ अर्खावाङका विशाल अर्याल, असारमा मुसिकोट–१ थामडाँडाकी नमिता विक, भदौमा छत्रकोट–३ मगरामका कृष्णप्रसाद पन्त र असोजमा रिब्दीकोट–२ पाल्पाका देवबहादुर घाइते भएका थिए ।
रुखमा तार नतान्नूस् भन्दा मुद्दा
विद्युत लाइन विस्तारको विषयमा प्रश्न उठाउने उपभोक्तामाथि नै दबाब र कानुनी झमेलाको सामना गर्नुपरेको स्थानीयको आरोप छ ।
स्थानीय उपभोक्ता पाण्डेले आफ्नो टोलमा सुरक्षित रूपमा पोल राखेर विद्युत लाइन विस्तार गर्न आग्रह गर्दा समस्या झनै बढेको दाबी गरे ।
रेसुङ्गा नगरपालिका–२ मा रहेको हाम्रो टोलमा एउटा पोल राखेर लाइन विस्तार गरिदिनुस भनेर प्रस्ताव राख्दा वैशाखमा निकालेको मिटर असोजसम्म नजोडिएको पाण्डेले बताए ।
उनले भने, ‘मिटर नजोडिदिने अनि बिजुली नै नबाले पनि महसुल र जरिवाना तिर्नुपर्ने किन भनेर प्रश्न गर्दा हातपात र मुद्दा मामिलासमेत गरियो ।’
पाण्डेका अनुसार विद्युतका तार व्यवस्थित गरौंभन्दा विद्युतका हाकिम र नगरप्रमुख खिलध्वज पन्थीले धम्की समेत दिएका थिए ।
यस विषयमा बुझ्न सम्पर्क गर्दा जिल्ला विद्युत कार्यालयका प्रमुख इन्जिनियर मनोज अर्यालको फोन स्विच अफ रहेको छ । उनी अहिले यही विषयमा छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए ।
प्रजिअ सापकोटाले प्राधिकरणले कमजोरी गरेको भए कारवाही हुने सापकोटाले जानकारी दिए ।
स्थानीयका अनुसार कतिपय ग्रामीण क्षेत्रमा विद्युत तार र पोलको संरचना अझै पनि जोखिमपूर्ण अवस्थामा छन् ।
खेतबारीका रुखमा तार बाँधेर, बाँसका घारामा अड्काएर वा अस्थायी संरचनाको सहारामा लाइन लैजाँदा हावाहुरी, वर्षा तथा खेतीपातीका क्रममा दुर्घटनाको जोखिम बढ्ने उनीहरूको भनाइ छ ।
स्थानीयले नेपाल विद्युत् प्राधिकरणले सुरक्षित र व्यवस्थित रूपमा लाइन विस्तार गर्नुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूले विद्युत संरचनाका कारण दुर्घटना भएर मानवीय क्षति भएपछि क्षतिपूर्ति दिनेभन्दा दुर्घटना हुनै नदिने गरी पूर्वसावधानी र नियमित अनुगमनमा जोड दिनुपर्ने बताएका छन् ।
प्रजिअ सापकोटाले पूर्वसावधानीकै विषयमा छलफल चलिरहेको बताए ।
सापकोटाका अनुसार विद्युत लाइन विस्तारका क्रममा मापदण्ड पालना भए/नभएको, जोखिमयुक्त संरचना हटाउन तथा सुधार गर्न प्राधिकरणले कस्तो अनुगमन गरेको छ भन्ने कोणबाट छलफल चलिरहेको छ ।