नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । संसारका समग्र प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीका रूपमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

रोहितको शतक र गुलशनको आक्रामक ब्याटिङमा क्यानडालाई २३६ रनको लक्ष्य

काठमाडौं । पूर्वकप्तान रोहित पौडेलको शतक र गुलशन झाको आक्रामक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध २३६ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको क्यानडाविरुद्ध नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । अब क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ । नेपालका लागि रोहितले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् । गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । गुलशनको स्ट्राइक रेट १४१.१७ रह्यो । उनी अर्धशतक बनाउन दुई रनले चुके । त्यस्तै, अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए । उनले चार चौका प्रहार गरे । बासिर अहमदले ५७ बलमा ३० रनको योगदान दिए । उनको ब्याटबाट तीन चौका निस्किए । नेपालका अन्य ब्याटर भने ठूलो स्कोर बनाउन असफल भए । ओपनर आसिफ शेख चार रनमा आउट भए भने इशान पाण्डे खाता नखोली पेभिलियन फर्किए उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । करण केसीले चार, नन्दन यादवले दुई र ललित राजवंशीले दुई रन बनाए । सन्दीप लामिछाने दुई रनमा अविजित रहे । क्यानडाका लागि जाहिद शिरजादले रोहित पौडेल र इशान पाण्डेलाई आउट गरे । सुखजिन्दर सिंहले अर्जुन कुमाल, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अखिल कुमारले आसिफ शेख, गुलशन झा, करण केसी र ललित राजवंशीलाई आउट गरे ।  अब नेपालका बलरले क्यानडालाई लक्ष्यमा पुग्नबाट रोक्न सके खेल जित्नेछ ।

रोहित पौडेलको शतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले क्यानडाविरुद्ध शतक प्रहार गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भइरहेको खेलमा रोहितले १२५ बलको सामना गर्दै सय रन पूरा गरेका हुन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेको क्यानडाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । क्यानडाको निर्णयपछि ब्याटिङमा उत्रिएको नेपालले रोहितको शतकीय प्रदर्शनमा सम्मानजनक योगफलतर्फ अघि बढेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालले ४६.४ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको शतक नेपालको इनिङ्सका लागि महत्त्वपूर्ण बनेको छ । रोहितले लामो समय क्रिजमा टिकेर रन बनाउँदै नेपाली ब्याटिङलाई सम्हालेका छन् । सीमित ओभरको क्रिकेटमा विपक्षी बलरको दबाबबीच धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गर्नु उनको व्यक्तिगत उपलब्धिसँगै टोलीका लागि पनि महत्त्वपूर्ण बनेको छ । नेपालका लागि यो खेल विश्वकप लिग–२ को प्रतिस्पर्धामा आफ्नो स्थिति बलियो बनाउने अवसरसमेत हो । लिग–२ को शीर्ष टोलीहरू सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रक्रियातर्फ अघि बढ्ने भएकाले प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण रहन्छ ।