जेनजी आन्दोलनमा लुटिएका हतियार किन्ने तयारी गर्दै थियो माझी ग्याङ्ग

राइडरको बहाना बनाएर लुटको आतंक

काठमाडौं । बिहानको अँध्यारो होस् वा मध्यरातको सुनसान । सडकमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई पछ्याउने, ठेगाना सोध्ने र बहाना बनाउने ।

उनीहरू मौका मिल्नेबित्तिकै सिक्री तथा नगद लुटेर मोटरसाइकलमा फरार हुन्थे । यही समूहको नेतृत्व सिन्धुलीका आयन माझीले गर्दै आएका थिए ।

माझीलाई प्रहरीले बुधबार बेलुका जडीबुटी पुलमुनिको सडकबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन खोज्यो । प्रहरीमाथि धारिलो हतियार प्रहारको प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो ।

बिहीबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनमा एसएसपी दिलिप खड्काले घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको बताए । उनका अनुसार खोजतलासमा भक्तपुरको ठिमीबाट समूहका  थप  दुई जना राकेश थिङ र मनोज कुमार मोक्तान पक्राउ परेका हुन् । 

उनले माझी सामान्य लुटेरा मात्रै होइनन्, समूह परिचालन गर्ने मुख्य योजनाकारसमेत रहेको जानकारी दिए ।

'लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट र अन्य आवश्यक सामग्री व्यवस्थापन गर्ने तथा लुटिएको बहुमूल्य सामानको व्यवस्थापन गर्ने भूमिका उनको थियो,' उनले भने । 

जेलबाट छुटे, फेरि उही धन्दामा

माझीको आपराधिक पृष्ठभूमि नयाँ भने होइन। प्रहरीका अनुसार उनी विभिन्न समयमा काठमाडौं, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयमा डाँका–चोरीसम्बन्धी २७ वटा मुद्दामा प्रतिवादी बनिसकेका छन् ।

२०७७ सालको डाँका–चोरी मुद्दामा कैद भुक्तान गरेपछि पनि उनी पुनः आपराधिक गतिविधिमा फर्किएकाे  प्रहरीको अनुसन्धानबाट खुलेकाे छ।

उनी २०७७ सालको मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए । अदालतले थप कैद सजाय तोकेपछि फरार रहेका उनी २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी छुटेका थि ए। तर, जेलबाट बाहिरिएपछि पनि उनले आपराधिक गतिविधि रोकेनन् ।

पुरानै शैलीलाई थप संगठित बनाउँदै उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सिक्री लुटपाट तथा हातहतियारको प्रयोगबाट लुटपाट गर्ने समूह परिचालन गरे ।

‘ठेगाना सोध्ने’ बहानादेखि इन्ड्राइभ चालकसम्म

माझी समूहको आपराधिक कार्यशैली पनि प्रहरी अनुसन्धानमा खुलेको छ । बिहानको अँध्यारो समयमा सडकमा हिँडिरहेका व्यक्तिलाई ठेगाना सोध्ने बहाना बनाउने, नजिक पुगेपछि सिक्री खोस्ने र मोटरसाइकलमा भाग्ने उनीहरूको एउटा प्रमुख शैली रहेको प्रहरी बताउँछ ।

उनीहरूले इन्ड्राइभ वा पठाओ चालककाे बाहना बनाएर राति तथा बिहानको सुनसान समयमा एक्लै हिँड्ने महिला तथा पुरुषलाई निशाना बनाउने गरेका थिए । सुनसान स्थानमा पुर्याएर लुटपाट गर्ने र आवश्यक परे हतियार प्रयोग गर्ने तयारीसमेत उनीहरूले गर्ने गर्थे ।

लुटपाटपछि पक्राउबाट बच्न एउटै मोटरसाइकलमा निर्भर नभई तीन वटाभन्दा बढी सवारी साधन परिवर्तन गर्ने गरेका थिए । कतिपय अवस्थामा लुटपाटकै लागि मोटरसाइकल चोरी गर्ने र त्यही मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । 

माझी समूहले गरेका भनिएका घटनामध्ये असोज १४ गते राति बौद्ध गेट नम्बर २ नजिक भएको लुटपाट गरेका थिए । तरकारी किन्न जाने क्रममा रहेका महेन्द्रकुमार बललाई चार–पाँच जनाको समूहले नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेका थिए ।

त्यसअघि गत १३ गते राति डल्लु चौतारास्थित सडकमा अर्को घटना भएको थियो। कारभित्र रहेका रमेश खड्कीको घाँटीमा लगाएको करिब साढे तीन तोलाको सिक्री मोटरसाइकलमा आएका तीन जनाले लुटेका थिए । उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

मोटरसाइकल चोरीदेखि हतियारसम्म

माझी समूहले लुटपाटका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेका छन् । पछिल्ला घटनामा प्रयोग भएको पल्सर २२० मोटरसाइकलसमेत बालकुमारी पुलमुनिबाट लुटेका थिए ।

उनीहरुले लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, नक्कली नम्बर प्लेट पाँच थान, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडा बरामद भएको छ । माझीको समूहले जेनजी आन्दोलनका क्रममा लुटिएका आधुनिक प्रहरी हतियार खरिद गर्ने तयारीमा थिए । 

माझीले लामो समयदेखि उपत्यकामा सिक्री स्न्याचिङ, मोटरसाइकल चोरी तथा सुन–डलर देखाएर लुटपाट गर्ने आपराधिक समूहका व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्दै आएका थिए। उनले नयाँ समूह बनाउने र योजनाबद्ध रूपमा अपराध गर्ने गरेका थिए ।

Share News