चीनबाट रिमोट कन्ट्रोल, नेपालमा सुनको धन्दा

भाडाको घरमा सुनको खेल, स्रोत र गन्तव्य अझै रहस्यमै

काठमाडौं । एउटा सामान्य घर । मानिसको ओहोरदोहोर । घरमा बिवाइडीको सेतो रंगको कार पार्किङ । मानिसको पातलो ओहोरदोहोर ।

यो काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भंगालको भाडामा लिएको घरको दृश्य हो ।

घरभित्र सुन प्रशोधन गर्ने मेसिन, उपकरण, नगद, अवैध सुन र ओसारपसार । घरभित्र अवैध सुनको कारोबार । 
काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले विशेष सूचनाका आधारमा लामो समयदेखि उक्त घरलाई निगरानी गरिरहेको थियो ।

बिहीबार प्रहरीले घरबाट निस्कन खोजिरहेको अवस्थामा बिवाइडी कारसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । २७ वर्षीय हान फेई, ४७ वर्षीय झीयु लङक्वीन र ३७ वर्षीय वाङ जीयानझेन पक्राउ परेका हुन् ।

कारमा कतै डेलिभर गर्न लागेका बिस्कुट पिसका सुनका टुक्रा थिए । लगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सुनसहित घरमा छापा मार्यो ।

केहीबेर लुटेरा सम्झिएर प्रहरीसँग धकेलाधकेल । प्रहरीले लगत्तै प्रहरी भएको परिचय दिए । प्रहरीको सक्रियता तुरुन्त बढ्यो । घरमा छापा मार्न पुगेका प्रहरीले कार्यालयका थप अन्य प्रहरी अधिकृतलाई खबर गरे । लगत्तै कार्यालयका प्रमुखसहित थप सुरक्षाकर्मी परिचालन भए ।

सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीयले छापा मार्न थाले । सुन, नगद, सुन प्रशोधनमा प्रयोग हुने उपकरण लगायतका विभिन्न कागजात फेला पार्यो । 

प्रहरीले २१ किलो ७५०. ६८ ग्राम सुन फेला पारेको थियो । उक्त सुनको नेपाली बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा बराबरको सुन रहेको थियो ।

चार महिनाको अग्रिम भाडा 

चिनियाँले सुनको कारोबार गर्न घरधनीसँग तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले बताए ।

उनका अनुसार चिनियाँ नागरिक सुक्यानले सन् २०२६ जुलाई २४ देखि घर भाडामा लिएको देखिन्छ । उनी अगस्ट १५ मा चीन गएको र त्यसपछि नेपाल फर्किएका छैनन् ।

घरको साँचो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण भएको देखिन्छ । सु क्यानले चीनमा रहेका झेन जियाले नामका व्यक्तिलाई साँचो दिएको र उनले हान फेईलाई साँचो पठाएका थिए ।

कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर घर भाडामा लिने व्यक्ति र घरभित्रको गतिविधिमा संलग्न व्यक्तिहरूबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रमुख खड्काले जानकारी दिए ।

'घर भाडामा लिने व्यक्ति देशबाहिर छन् । तर, घरको प्रयोग निरन्तर छ । घरको साँचो चीनबाट नेपाल आउने व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ,' उनले भने । 

चीनमा बसेर निर्देशन, नेपालमा सुन प्रशोधन 

झेन जियाले चीनको ग्वाङझाउमा बस्थे । हान फेईले आफूलाई उनको निर्देशनमा काम गर्ने व्यक्तिका खुलाएका छन् । नेपालमा के गर्ने, कहाँ पुर्याउने र कसलाई सुन बुझाउने भन्ने कुराहरू वीच्याटमार्पत हुने गरेको थियो । 

खड्काका अनुसार घरमा सुनको लेसिलो तथा अर्धप्रशोधित अवस्थाको धातुलाई प्रशोधन गर्थे । तयार पारेको सुनलाई स्थानमा पुर्याउने काम गर्थे । सुन कहाँबाट ल्याइन्थ्यो, कसले घरसम्म पुर्याउँथ्यो र तयार भएको सुन कसको जिम्मामा जान्थ्यो भन्ने विषयमा उनीहरूले स्पष्ट जानकारी नदिएको उनी बताउँछन् ।

नेपालमा सुन प्रशोधन गर्ने मेसिनसहित पहिलो पटक मानिसहरू पक्राउ परेको खड्का दाबी गर्छन् ।

सुन बोक्न विद्युतीय गाडी, निगरानीमा प्रहरी हान फेईले नेपाल आएको भोलिपल्ट विमानस्थलबाटै विद्युतीय गाडी भाडामा लिएकाे अनुसन्धानबाट देखिएकाे छ । 

असोज ११ देखि २५ गतेसम्मका लागि भाडामा लिएकाे दैनिक ८ हजार भाडा तिर्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । विद्युतीय कारमा जीपीएस जडान हुने भएकाले कहाँ-कहाँ गाडी पुगेको छ त्यसको अनुसन्धान गरेकाे खड्काले बताए ।

विशेष सूचनापछि प्रहरीले घरमा आउने-जाने व्यक्तिहरूमाथि निगरानी बढाएको थियो । स्थानीय छिमेकी तथा जनप्रतिनिधिबाटसहित घरमा छापा मारिएको थियो । 

पर्यटन भिसामा प्रवेश

चिनियाँ नागरिकहरू पर्यटन भिसामा नेपाल आएका थिए ।

हान फेईले यसअघि परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझी चीन फर्किएका थिए । उनी पुनः नेपाल आएर घरभित्र हुने सुन कारोबारीमा संलग्न भए । उनीहरू हङकङ हुँदै नेपाल आएको खुलेको छ ।

खुलेन सुनको स्रोत र अन्तिम गन्तव्य

अहिलेसम्मको अनुसन्धानमा कुनै नेपाली नागरिकको संलग्नता नखुलेको उनी बताउँछन् । 'नेपाली व्यक्ति वा समूहको संलग्नता देखिएको छैन,’ खड्का भन्छन्,’ सुन कहाँबाट आयो, नेपालभित्र कसले उपलब्ध गरायो, कसका लागि प्रशोधन गरियो र कसलाई बुझाउने तयारी थियो चिनियाले भाषाको कारण भन्न सकेका छैनन् ।' 

नेपालमा जोडिएका सम्बन्धहरूको खोजी भइरहेको उनले बताए । सुनको लिक्वीड बाइ प्लेन वा रोड कताबाट आउँथ्यो त्यस विषयमा अझैसम्म खुल्न नसकेको खड्का खुलाउँछन् ।

घरमा भेटिएका कागजात, उपकरण, गाडी र डिजिटल सम्पर्कका विवरणलाई आधार बनाएर अनुसन्धान गरिने उनले बताए । ' घरमा भेटघाट गर्न आउने व्यक्तिहरूको पहिचान र उनीहरूको सम्बन्ध पत्ता लगाउने काम पनि भइरहेको छ,' उनले अगाडि थपे ।

डिपोर्टमा चिनियाँको संख्या बढ्दै

नेपालमा अपराध गरेर सबभन्दा बढी चिनियाँ डिपोर्ट हुने गरेका छन् । अध्यागमन विभागले प्रत्येक वर्ष विदेशीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ । 

विभागका अनुसार जनवरीदेखि हालसम्म चाइनिज मात्र १ सय २१ डिपोर्ट भइसकेका छन् । हालसम्म ४१५ जना विदेशी डिपोर्ट भएका छन् । 

विभागले पछिल्लो समय नेपालमा पर्यटकीय भिसाले अपराध गर्नेको संख्या बढ्दै गएको जनाएको छ । भिसाको नवीकरण नगर्ने र भिसाको दुरुपयोग गर्नेको संख्या बढेको छ । भिसाको दुरुपयोग गर्नेमा पनि चिनियाँहरू सबैभन्दा अगाडि रहेको विभागले बताएको छ ।

Share News