यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम

काठमाडौं । तीन सातासम्म कडा संघर्ष, पुनरागमन र अन्तिम क्षणका रोमाञ्चक खेलपछि इङ्ल्यान्डले यस सप्ताहान्तमा २०२६ विश्वकपको क्वार्टरफाइनलमा नर्वेको सामना गर्दैछ । थोमस टुखेलको टोलीले प्रतियोगितामा तुलनात्मक रूपमा सहज यात्रा तय गरेको देखिए पनि त्यो यात्रा त्यति सजिलो भने थिएन । अब भने उनीहरूको अगाडि नर्वेजस्तो अझ कठिन चुनौती उभिएको छ । नर्वेको टोलीको मुख्य आकर्षण विश्व फुटबलका सुपरस्टार अर्लिङ हालान्ड हुन् । उनलाई कप्तान मार्टिन ओडेगार्ड, जुलियन रियरसनलगायत च्याम्पियन्स लिगमा अनुभवी खेलाडीहरूको साथ छ । नर्वे आफ्नो उत्कृष्ट दिनमा इङ्ल्यान्डलाई हराउन पूर्ण रूपमा सक्षम टोली हो । तर यदि ह्यारी केन नेतृत्वको इङ्ल्यान्डले यी ६ महत्त्वपूर्ण पक्षमा सफलता हासिल गर्न सक्यो भने सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो हुनेछ । १. हालान्डलाई रोक्नूहोस् इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सले प्रि–म्याच पत्रकार सम्मेलनमा भनेका थिए, ‘के कसैले अर्लिङ हालान्डलाई साँच्चै रोक्न सकेको छ ? मलाई त लाग्दैन । तर हामी प्रयास गर्नेछौं ।’ इङ्ल्यान्डले हालान्डलाई पूर्ण रूपमा रोक्न सक्दैन भन्ने होइन, तर उनलाई नियन्त्रणमा राख्न निकै कठिन हुने कुरा खेलाडीहरूलाई राम्रोसँग थाहा छ । धेरै टोली त्यसमा असफल भएका छन् । म्यानचेस्टर सिटीका यी फरवार्डले नर्वेका लागि पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा २७ गोल गरेका छन् । उनले ती सबै खेलमा गोल गरेका छन्, जसमा २०२६ विश्वकपका चारवटै खेल पनि समावेश छन् । यदि उनले इङ्ल्यान्डविरुद्ध पनि गोल गरे भने विश्वकपमा आफ्नो पहिलो पाँच खेलमै लगातार गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । यसअघि यस्तो उपलब्धि २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेज र युरोपेली खेलाडीमध्ये १९७० मा जर्मनीका गर्ड मुलरले हासिल गरेका थिए । हालान्डको विशेषता भनेको लामो समय खेलमा खासै सक्रिय नदेखिए पनि अवसर पाएलगत्तै घातक बन्नु हो । विश्वकपमा उनले प्रति ९० मिनेट औसत २४.८ पटक मात्र बल छोएका छन्, तर त्यसैबाट सात गोल गरिसकेका छन् । उनका १८ मध्ये १७ प्रहार पहिलो स्पर्शमै भएका छन् । त्यसैले उनी खेलभर शान्त देखिए पनि कुनै पनि क्षण निर्णायक बन्न सक्छन् । रोजर्सको भनाइमा हालान्डलाई रोक्नेभन्दा पनि उनसम्म बल पुग्ने बाटो बन्द गर्नु अझ प्रभावकारी रणनीति हुन सक्छ । २. ओडेगार्डलाई खेल बनाउन नदिनूहोस्   हालान्डसम्म बल पुर्याउने नर्वेको सबैभन्दा ठूलो हतियार कप्तान मार्टिन ओडेगार्ड हुन् । ओडेगार्डले विश्वकपका पहिलो तीन खेलमा लगातार असिस्ट दिएका थिए । यस प्रतियोगितामा उनी सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने खेलाडीमध्ये एक हुन् । उनी केवल असिस्ट दिने खेलाडी मात्र होइनन्, विपक्षीको डिफेन्स चिर्दै बल अगाडि बढाउने जिम्मेवारी पनि उनकै काँधमा हुन्छ । क्वार्टरफाइनलअघि उच्च दबाबमा विपक्षीको रक्षापङ्क्ति तोड्ने पास दिने खेलाडीमा उनी संयुक्त रूपमा शीर्ष स्थानमा थिए । साथै उनले नर्वेका अन्य कुनै पनि खेलाडीभन्दा बढी पटक विपक्षीको पेनाल्टी क्षेत्रभित्र पास पुर्याएका छन् । त्यसैले इङ्ल्यान्डले ओडेगार्डलाई प्रभावहीन बनाउन सके हालान्डको प्रभाव पनि स्वतः कम हुनेछ । ३. नर्वेको दाहिने रक्षापट्टिबाट आक्रमण गर्नूहोस् इङ्ल्यान्डले हालान्ड र ओडेगार्डबाट आउने खतरा नियन्त्रण गर्नु त आवश्यक छ नै, त्यससँगै आक्रामक खेल पनि देखाउनुपर्नेछ । किनभने हालान्डले फेरि गोल गर्ने सम्भावना उच्च छ, त्यसैले जित्न कम्तीमा दुई गोल आवश्यक पर्न सक्छ । नर्वेको आक्रमण निकै बलियो भए पनि रक्षापङ्क्ति भने पूर्ण रूपमा भरपर्दो छैन । उनीहरूले विश्वकपका पहिलो पाँच खेलमा १२ गोल गरे पनि ९ गोल खाएका छन् । उनीहरू यहाँसम्म मुख्यतः आक्रमणको बलमा आइपुगेका हुन्, रक्षाको कारण होइन । विशेषगरी नर्वेले आफ्नो दाहिने रक्षापट्टिबाट आएका क्रसमा कमजोरी देखाएको छ । इराक, सेनेगल र फ्रान्सविरुद्ध यही क्षेत्रबाट खुला खेलमा तीन गोल खाएको तथ्याङ्क छ । साथै विश्वकपमा सबैभन्दा धेरै क्रसबाट प्रहार पनि नर्वेकै पोस्टतर्फ भएको छ । उता इङ्ल्यान्डले भने विश्वकपमा चार हेडर गोल गरिसकेको छ, जसमा तीन गोल लेफ्ट विङबाट आएको क्रसमा सम्भव भएको हो । त्यसैले एन्थोनी गोर्डनजस्ता खेलाडीले निर्णायक भूमिका खेल्न सक्छन् । ४. तीव्रता कायम राख्दै ऊर्जा पनि बचाउनुहोस् विश्वकपमा मौसम र खेलस्थलले पनि ठूलो प्रभाव पार्छ । मेक्सिको सिटीमा उचाइ चुनौती बनेको थियो भने यसपटक मियामीको अत्यधिक गर्मी इङ्ल्यान्डका लागि परीक्षा हुनेछ । स्थानीय समयअनुसार साँझ ५ बजे खेल सुरु हुँदा तापक्रम करिब ३३ डिग्री सेल्सियस रहने र आद्र्रताका कारण अनुभूत तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । टुखेलले सुरुदेखि नै आफ्नो टोलीलाई प्रिमियर लिग शैलीको तीव्र, शारीरिक र आक्रामक फुटबल खेलाउन चाहेको बताएका छन् । इङ्ल्यान्डले यस विश्वकपमा उच्च प्रेसिङमार्फत उत्कृष्ट प्रदर्शन पनि गरेको छ । तर यस्तो गर्मीमा निरन्तर प्रेसिङ गर्दा खेलाडीहरू चाँडै थाक्न सक्छन् । त्यसैले इङ्ल्यान्डले आवश्यक बेला बल आफ्नो नियन्त्रणमा राख्दै ऊर्जा बचाउन र विवेकपूर्ण रूपमा प्रेसिङ गर्नुपर्ने विश्लेषण गरिएको छ । ५. सेकेन्ड बलमा नियन्त्रण कायम राख्नूहोस्  नर्वे प्राविधिक रूपमा कमजोर टोली होइन, तर उनीहरू लामो पासमार्फत छिट्टै आक्रमण निर्माण गर्न रुचाउँछन् । राइट विङमा ६ फिट ५ इन्च अग्ला अलेक्जान्डर सोर्लोथलाई खेलाउनु पनि यही रणनीतिको हिस्सा हो । यस विश्वकपमा नर्वेले आफ्नै गोलकिपरबाट विपक्षीको क्षेत्रमा लामो गोल–किक खेलाउने टोलीमध्ये अग्रस्थानमा रहेको छ । गोलकिपर ओर्जान नाइलान्डबाट सोर्लोथतर्फ जाने लामो पास उनीहरूको सबैभन्दा धेरै प्रयोग हुने आक्रमणको माध्यम बनेको छ । यदि इङ्ल्यान्डले उच्च प्रेसिङ गर्यो भने नर्वेले बल सिधै हालान्ड वा सोर्लोथतर्फ उछाल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो हेडर जित्नु मात्र पर्याप्त हुँदैन, त्यसपछि खस्ने ‘सेकेन्ड बल’ पनि आफ्नो नियन्त्रणमा लिनुपर्ने हुन्छ । यस पक्षमा इङ्ल्यान्ड बलियो देखिन्छ ।  विश्वकपमा टोलीको ड्युल जित्ने प्रतिशत ५४.५ रहेको छ, जबकि इलियट एन्डरसन, जुड बेलिङ्घम र डेक्लान राइसले बल पुनः कब्जामा लिन उत्कृष्ट प्रदर्शन गरेका छन् । यी तीन मिडफिल्डरको प्रदर्शन इङ्ल्यान्डको सफलताका लागि निर्णायक बन्न सक्छ । ६. ठूला प्रतियोगिताको अनुभवको फाइदा उठाउनूहोस्  इङ्ल्यान्डसँग ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको प्रशस्त अनुभव छ । २०१६ को युरोकपमा आइसल्यान्डसँग अप्रत्याशित हार बेहोरेपछि प्रशिक्षक गारेथ साउथगेटको आगमनसँगै टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । साउथगेटको नेतृत्वमा इङ्ल्यान्ड २०१८ विश्वकपको सेमिफाइनल पुगेको थियो । २०२२ विश्वकपमा फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित भए पनि त्यसअघि र त्यसपछि दुवै युरोकपको फाइनल खेलेको थियो ।  यसपटक क्वार्टरफाइनलमा पुगेसँगै इङ्ल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्ने इतिहासमा ११औं पटक सफल भएको छ । ब्राजिल र जर्मनीमात्र यस मामिलामा इङ्ल्यान्डभन्दा अगाडि छन् । यता नर्वेका लागि भने यो नयाँ अनुभव हो । उनीहरू पहिलो पटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका हुन् । आइभरी कोस्ट र ब्राजिलमाथिको जित पनि नर्वेको नकआउट चरणमा पहिलो दुई जित हुन् । इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड, कप्तान ह्यारी केनलगायत खेलाडीहरू दबाबपूर्ण खेल खेल्न अभ्यस्त छन् । पिकफोर्ड मैदान उत्रिए विश्वकपमा इङ्ल्यान्डका लागि आफ्नो १८औं खेल खेल्नेछन् र यससँगै उनी पिटर शिल्टनलाई पछि पार्दै विश्वकपमा इङ्ल्यान्डका सबैभन्दा अनुभवी खेलाडी बन्नेछन् । यही अनुभवलाई सही रूपमा उपयोग गर्न सके इङ्ल्यान्डले नर्वेको चुनौती पार गर्न सक्ने विश्लेषण गरिएको छ । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

सर्लाहीमा एक युवकको आत्मदाह प्रयास, काठमाडौं ल्याउने तयारी

काठमाडौं । सर्लाहीमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता १० का ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्न खोजेको सर्लाही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए । उनका अनुसार ती युवकले आज दिउँसो अढाइ बजेतिर शरीरमा आगो लगाउने प्रयास गरेका थिए । युवकका बुबाका अनुसार मानसिक सन्तुलन अलिक गुमेको जानकारी पाएको उनले बताए । मंलगवामा उपचार भइरहेको र उनलाई थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको उनले जानकारी दिए । बिहीबार मात्र काठमाडौंस्थित त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । शुक्रबार उनको निधन भएको छ ।

रोष्ट्रममै भावुक बने गृहमन्त्री : ‘रातभर प्रयास गर्यौं, गणेशलाई बचाउन सकेनौं’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्ने क्रममा भावुक बनेका छन् । आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि संसद्मा बोल्दै उनले घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको बताए । संसद्को रोष्ट्रममा उक्लिएपछि केहीबेर उनी बोल्न नसकी भावुक बनेका थिए । आँखा रसाएपछि उनले केही क्षण आफूलाई सम्हाल्ने प्रयास गरे र त्यसपछि मात्रै आफ्नो धारणा राखे ।  गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन अन्तिमसम्म प्रयास गरेको उल्लेख गर्दै उपचारका लागि रातभर सबै संयन्त्र परिचालन गरिएको बताए । ‘रातभर खटियौं, उपचारका लागि सबै प्रयास ग¥यौं। तर, दुर्भाग्यवश गणेशलाई बचाउन सकेनौं,’ उनले भने ।  उनले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गर्दै जनताको सेवामा व्यवहारिक रूपमा काम गर्नुपर्नेमा जोड दिए । ‘संसद्मा ठूलो स्वरले बोल्दैमा मात्रै जनताको सेवा हुँदैन । जनताको पक्षमा बोलेको धेरै दशक भइसक्यो । अब काम गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘म यहाँ कसैलाई प्रभावित पार्न वा स्टन्ट गर्न आएको होइन । देश र जनताको सेवा गर्ने जिम्मेवारी पूरा गर्न आएको हुँ ।’ गृहमन्त्रीले घटनासँग जोडिएको ’ह्विल लक’ विवादबारे पनि स्पष्टिकरण दिएका छन् । उनका अनुसार गणेश नेपालीले प्रयोग गरिरहेको मोटरसाइकलमा नेपाल प्रहरीको ट्राफिकले होइन, काठमाडौं महानगरको नगर प्रहरीले ह्विल लक लगाएको थियो ।  ‘घटना भएको स्थानमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको होइन । त्यो नगर प्रहरीले गरेको हो,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकार कसको नेतृत्वमा छन् भन्ने पनि सबैलाई थाहा छ । त्यसैले तथ्य नबुझी गृह मन्त्रालयमाथि मात्र दोषारोपण गर्नु उचित हुँदैन ।’ उनले केही सांसदले संसद्मा कडा अभिव्यक्ति दिएकोप्रति संकेत गर्दै पीडित परिवारको साथमा व्यवहारिक रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए ।  ‘हामी गृह मन्त्रालयमा बसेर पीडित परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेका थियौं । अस्पतालमा पुगेर अवस्था बुझ्नेभन्दा संसद्मा ठूलो स्वरले बोल्ने प्रवृत्तिले समाधान दिँदैन,’ उनले भने, ‘पीडा अनुभूति गरेर काम गर्नुपर्छ । जनताको सेवामा लागेकालाई ‘स्टन्टबाजी’ को आरोप लगाउनु उचित होइन ।’ मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो ।  भक्तपुरमा परिवारसँग बस्दै आएका गणेश राइड–सेयरिङ एपमार्फत मोटरसाइकल चालकको रूपमा काम गर्दै आएका थिए । आफूले पार्किङमा राखेको मोटरसाइकल नगर प्रहरीले ह्विल लक गरी नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् । उनले सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही हुने बताए । उनले ती जना नगर प्रहरीलाई पनि नियन्त्रणमा लिइएको बताएका छन् ।