काठमाडौं । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल-२०२६) काठमाडौंमा भएको छ । जुरी प्यानलका सदस्यहरू हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापाले शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि सुरु भएको समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज तथा लोकप्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान र दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य-दृश्य सामग्री प्रदर्शनपछि मनोरञ्जनात्मक प्रस्तुतिका साथ कार्यक्रम अघि बढेको थियो । यस वर्षको अवार्डमा नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्विटर’ सर्वाधिक नौ विधामा विजयी हुँदै सर्वोत्कृष्ट ठहरियो ।
फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (नवीन चौहान), उत्कृष्ट अभिनेत्री (मिरुना मगर), उत्कृष्ट पाश्र्व गायिका (झुमा लिम्बु- ‘काफ्ले’), उत्कृष्ट पाश्र्व गायक (सुजन चापागाईं- ’फूलहरू’), उत्कृष्ट गीतकार (हर्क साउद - ’फूलहरू’) र उत्कृष्ट पटकथा (नवीन चौहान र सुरज) लगायतका प्रमुख विधामा सफलता हात पारेको छ ।
मुख्य अभिनय विधामा भने कडा प्रतिस्पर्धाका बीच ‘परान’ बाट नीर शाह र ‘ऊनको स्विटर’ बाट विपिन कार्की संयुक्त रूपमा उत्कृष्ट अभिनेता घोषित भए । यस्तै, चरित्र अभिनयतर्फ ‘श्री बुकुरो’ बाट लक्ष्मी गिरी र ‘हर्ष’ बाट सन्तोष पन्त उत्कृष्ट घोषित भए भने सह-अभिनेतातर्फ प्रकाश दाहाल (‘अभिमन्यू’) र सह-अभिनेत्रीतर्फ आँचल शर्मा (‘जेरीः अन टप’) ले अवार्ड जिते । नव-कलाकारतर्फ विमोचन दवाडी (‘झरीपछिको इन्द्रेणी’) र श्यामश्री शेर्पा (‘माइतीघर’) ले सफलता प्राप्त गरे ।
प्राविधिक तथा अन्य विधाहरूमा ‘जेरीः अन टप’ ले छायांकन (निमेष रेग्मी) र सम्पादन (निमेष श्रेष्ठ) मा सफलता पायो। यस्तै ‘द ब्लू लाइट’ ले उत्कृष्ट खलपात्र (श्रृष्टि श्रेष्ठ) र पाश्र्व संगीत (मोहक श्रेष्ठ) को अवार्ड जित्यो। द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ (‘राम नाम सत्य’) र नृत्य निर्देशनमा रामजी लामिछाने (‘मोहर’) पुरस्कृत भए ।
समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ नगदसहित ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो । विशेष विधाहरूमा कविता नेपाल ‘पर्फमर अफ द इयर’, उषा उप्रेती ‘इन्करेजमेन्ट अवार्ड’, जस्सिता गुरुङ ‘लोकप्रिय अभिनेत्री’ र पल शाह ‘लोकप्रिय अभिनेता’ घोषित भए ।
जुरी अवार्डतर्फ अभिनेता सौगात मल्ल (‘सिटामोल’), निर्देशक सुदीप्ता अधिकारी (‘रमिताको पिरती’) र चलचित्र ‘गुन्यु चोलो’ (निर्देशक समुद्र भट्ट) पुरस्कृत भए भने कान फिल्म फेस्टिभलमा सफलता पाएको ‘एलिफेन्टस इन द फग’ लाई विशेष सम्मान गरियो ।
सन्दिप क्षेत्री र ओशिन सिटौलाको ठट्टाउलो सञ्चालन रहेको समारोहमा दीया मास्के, तेरिया मगर, कमेडी दरबारका कलाकार र बाबुल गिरी लगायतको सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
आयोजकका तर्फबाट बोर्ड निर्देशक आशिष पन्तले आन्तरिक व्यवस्थापन र स्क्रिप्ट लेखनको जिम्मेवारी सम्हालेका थिए भने पाल्देन लामाले धन्यवाद ज्ञापन गर्दै नेपालमा पहिलो पटक आयोजित यो संस्करण सफल भएकोमा खुसी व्यक्त गरे ।