काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो ।
बैंकको मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस खेलमा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । खेलमा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ ।
खेलमा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी पोइन्ट प्राप्त हुनेछ । यसले क्रिकेटप्रेमीलाई खेलको मनोरञ्जनसँगै पोइन्ट संकलन गर्ने अवसर प्रदान गर्नेछ ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आफूले आर्जन गरेका पोइन्ट सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि खेल खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन् । तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ ।
यस पहलमार्फत बैंकले क्रिकेटप्रेमीको सहभागिता बढाउनुका साथै डिजिटल बैंकिङ अनुभवलाई थप रोचक र मनोरञ्जनात्मक बनाउने उद्देश्य राखेको जनाएको छ ।
यससम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।