काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान बरामद गरेको छ ।
बरामद गरिएका सामान सशस्त्र प्रहरीले भन्सार तथा राजस्व कार्यालय र सम्बन्धित निकायमा बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाइले गरेको नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा गरिएको कारबाहीबाट उक्त परिमाणमा अवैध सामान बरामद भएको हो ।
सबैभन्दा धेरै सामान नेपाल–भारत सीमा जोडिएको पर्साबाट बरामद भएको छ । पर्साबाट २५ करोड ११ लाख ९४ हजार २५४ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, बाँकेबाट १३ करोड ६२ लाख २१ हजार १३८ रुपैयाँ, झापाबाट १३ करोड ८ लाख ८९ हजार ८८१ रुपैयाँ, रुपन्देहीबाट १२ करोड ८८ लाख २४ हजार ४२१ रुपैयाँ र कैलालीबाट १२ करोड ४२ लाख १० हजार ४२८ रुपैयाँ बराबरका सामान बरामद भएका छन् ।
यसैगरी सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बाराका सीमा क्षेत्रबाट पनि उल्लेख्य परिमाणमा अवैध सामान बरामद गरिएको छ ।
मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरीलगायत जिल्लाबाट पनि करोडौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका इकाइले नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गर्दै आएका छन् । चोरीपैठारी तथा निकासी नियन्त्रणका लागि भन्सार विभाग, अन्य सुरक्षा निकाय र सम्बन्धित निकायसँगको समन्वयलाई समेत प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका खाद्यान्न, लत्ताकपडा, औषधि, किराना तथा हार्डवेयर सामान, सुनचाँदी, पन्छी तथा पशुचौपाया र वनपैदावरलगायतका वस्तु बरामद गरिएको छ ।
त्यस्तै, अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालबाट वा नेपाल हुँदै अन्य देशतर्फ लैजान खोजिएका अवैध सामानसमेत नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको छ ।