देशभर नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ ।

नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ । नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ ।

धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ । आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ ।   

Share News