बौद्धमा वृद्धमाथि कैंची प्रहार गर्ने ‘टाइसन लामा’ पक्राउ
काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा एक वृद्धमाथि कैंची प्रहार गरी गम्भीर घाइते बनाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनाका आरोपी ३४ वर्षीय ‘टाइसन लामा’ भनिने टाइजन याजकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । केही दिनअघि काठमाडौं महानगरपालिका वडा नम्बर ६, बौद्ध सानो टुसाल बस्ने ७९ वर्षीय वृद्धमाथि लामाले कैंची प्रहार गरेका थिए । बौद्धस्थित फुलबारी हिमालयन जाभा कफी शपको पछाडिको सडकखण्डमा उनले वृद्धलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको थियो । कैंची प्रहारबाट घाइते भएका वृद्धलाई तत्काल उद्धार गरी चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार गरिए पनि चोटको गम्भीरतालाई हेर्दै थप उपचारका लागि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो । पक्राउ परेका लामा विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइसकिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार आरोपीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ । आरोपीलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत सोधपुछ गरिरहेको जनाएको छ ।
चन्द्रागिरीबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद
काठमाडौं । प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख रुपैयाँ बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।