फेसबुकमा रोजगारीको प्रलोभन देखाएर बंगलादेश भाग्दै गरेका ५ जना पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गर्नुका साथै अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमार्फत ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाएर बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको कोटेश्वर बस्दै आएका महोत्तरीका २९ वर्षीय सुभाषकुमार मण्डल रहेका छन् । यस्तै बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल पनि पक्राउ परेका छन् । उनीहरूलाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीका साथै बाइनान्स मार्फत क्रिप्टो तथा यूएसडीटी  कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

अश्लील भिडियो र तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या, ब्ल्याकमेल तथा मानसिक दुःख–हैरानी दिएको आरोपमा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गर्दै ब्ल्याकमेल गर्ने, अनुचित लाभका लागि बारम्बार दबाब दिने र माग पूरा नभएपछि टिकटकमा सामग्री सार्वजनिक गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न भारतको आसाम राज्य, गुवाहाटीको मदनपुर निवासी २६ वर्षीय जावरुल हक पक्राउ परेका हुन् । उनलाई असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको हो । यसैगरी, प्रेम सम्बन्ध विच्छेद भएपछि फेसबुकमार्फत अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, मानसिक तनाव र दुःख–हैरानी दिने आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्कीलाई पनि सोही दिन पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

युवा खेलाडीको प्रतिभा उजागर गर्दै ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सम्पन्न

काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामार्फत नेपाली फुटबलका युवा प्रतिभालाई अवसर प्रदान गर्दै ग्रासरुट फुटबल विकासमा योगदान पुर्‍याउने कम्पनीले जनाएको छ । ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) को एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा रहेको ह्युन्डाईले ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार स्थानीय तहबाटै फुटबल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भयो । कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ । साथै, एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको ग्रासरुट विकासलाई दीर्घकालीन रूपमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास प्रदान गर्ने बताए । ह्युन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।