हकप्रदकाे निर्णयपछि नेपाल रिको सेयर १५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा बुधबार (आज) उच्च वृद्धि भएको छ । नेपाल सरकारले मंगलबार (हिजो) कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने निर्णय गरेसँगै दोस्रो बजारमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबार ८४१ रुपैयाँ ५० पैसामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य  १ बजेर ३६ मिनेटसम्ममा ९२१ रुपैयाँ ७० पैसा पुगेको हो । अघिल्लो दिन अर्थात मंगलबार अन्तिम कारोबार मूल्य ८०१ रुपैयाँ ५० पैसा का आधारमा कम्पनीको सेयर मूल्य १२०.२० पैसा अर्थात १५ प्रतिशतले बढेको छ ।

कम्पनीको हालको बजार स्थितिअनुसार खरिदकर्ताहरूको मात्र अत्यधिक चाप देखिएको छ भने बिक्रीतर्फ शून्य अर्डर रहेको छ । कम्पनीको मार्केट डेप्थ विवरणअनुसार लगानीकर्ताहरू उच्च दरमा सेयर खरिद गर्न तम्सिएका छन् तर बिक्रीकर्ताहरूले सेयर बेच्न नचाहँदा बजारमा माग मात्र उच्च देखिएको छ । 

जसमध्ये सबैभन्दा उच्च दर ९२१.७० रुपैयाँमा मात्रै २६५ वटा छुट्टाछुट्टै अर्डरमार्फत १ लाख ७७४ कित्ता सेयर खरिदको माग गरेको देखिन्छ । कुल १ लान ३५ हजथार ३८१ कित्ता सेयर खरिदका लागि अर्डरहरू कामय भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति गरेको थियो । सरकारको निर्णयसँगै कम्पनीमा सरकारी लगानी थपिने प्रक्रिया अघि बढ्ने भएपछि लगानीकर्ताले यसलाई सकारात्मक रूपमा लिएको देखिन्छ । यसको प्रभाव बुधबारको कारोबारमा देखिएको हो ।

नेपाल पुनर्बीमा कम्पनीमा संस्थापक समूहको ८४ प्रतिशत र सर्वसाधारण समूहको १६ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको कुल १३ करोड ४२ लाख २१ हजार ८७१ कित्ता सेयरमध्ये ११ करोड २७ लाख ४६ हजार ३७२ कित्ता संस्थापक र २ करोड १४ लाख ७५ हजार ४९९ कित्ता सर्वसाधारण समूहको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेको छ । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । तोकिएको पुँजी पुर्याउन कम्पनीले करिब ५० प्रतिशत हकप्रद सेयर जारी गर्नुपर्नेछ ।

Share News