१.१३ अर्ब लाभांश पारित गर्न निफ्राले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेपाल पूर्वाधार बैंक लिमिटेड (निफ्रा)ले वार्षिक साधारण सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले असोज २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे आठौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाबाट स्वीकृत लाभांश कम्पनी ऐन बमोजिम अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ।

बैंकका अनुसार बहालवाला लेखापरीक्षक बीआरएस न्यौपाने एन्ड कम्पनीले लगातार तीन वर्ष बैंकको लेखापरीक्षण सम्पन्न गरिसकेकाले पुनः नियुक्त हुन सक्नेछ ।

त्यस्तै, सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने गरी निर्वाचित दुई सञ्चालकमध्ये सञ्चालक लिमा अधिकारी आचार्यले पदबाट दिएको राजीनामा स्वीकृत भई रिक्त स्थानमा सञ्चालक समितिको १७८औं बैठकको निर्णयअनुसार सोही समूहको प्रतिनिधित्व गर्ने अनिता रायमाझीलाई सञ्चालक नियुक्त गरिएकोमा उक्त नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते सेयर दाखिला खारेज मिति तोकेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News