मुक्तिनाथ म्युचुअल फण्ड-२ बिक्री खुला, १ करोड इकाई खरिद गर्न मिल्ने
काठमाडौं । मुक्तिनाथ क्यापिटलले आज असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड(२ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
युनाइटेड मोदी हाइड्रोले ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निकाल्ने
काठमाडौं । विद्युत् नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको छ । आयोगको भदौ २५ गते बसेको ३१९औँ बैठकको निर्णयअनुसार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । सो पुँजीको १:०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्दा ७९ करोड ९८ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले आयोगसमक्ष पेस गरेको थियो । तर, आयोगले कम्पनीले मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि लिएको ऋणलाई आधार मानेर ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो । कम्पनीले यसअघि मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । थप १२ करोड ५० लाख रुपैयाँ कर्जा समेत गरी कुल ८० करोड रुपैयाँ ऋण लिएकोमा हकप्रद सेयरबाट प्राप्त रकम बैंक कर्जा भुक्तानीमा प्रयोग गर्ने कम्पनीको योजना छ । युनाइटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको दशौँ वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई संशोधन गर्दै एघारौँ वार्षिक साधारणसभाले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ९ बमोजिम उक्त पूर्वस्वीकृति दिएको जनाएको छ ।
सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । बैंकले २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकका अनुसार २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश दिँदै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्ने बैंकले जनाएको छ ।