काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले असोज २५ गते कैलालीको अत्तरियास्थित होटल जंगल स्पा प्रालिमा दिउँसो १ बजे पाँचौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १७ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम कम्पनीका आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध संस्थासँग तथा कम्पनीसँग सम्बद्ध अन्य संस्थासँग भएका कारोबारको विवरण अनुमोदन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।
बोनस सेयर वितरणसम्बन्धी विशेष प्रस्ताव पारित भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते सेयर दाखिला खारेज मिति तोकेको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।