पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक (विवरणसहित)

काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरूको नामावली सार्वजनिक गरेको हो । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरेको छ ।   त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।   समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ । यस्तो छ ऋणीहरूको विवरणः

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम । बिहान ३ः०० नबज्दै  फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो ।  दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक  रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उनी घर फर्कछन् । 'दुग्ध सहकारीले मनासिव मूल्य दिन्छ । गाईपालनमा अझ उत्साह बढेको छ', उनले भने । फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा ८४ परिवार आबद्ध छन् । तीमध्ये ४५ परिवारले नियमित रूपमा दूध बिक्री गरिरहेका छन् । सहकारीका सहसचिव ढाकाबहादुर मगर सफल दुग्ध किसानमध्ये परेका छन् । केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्दै आएका उनले एउटा गाई बिक्री गरेपछि उत्पादन घटेर अहिले ४८ लिटरमा सीमित भएको बताउँछन् । 'चार माउ उन्नत जातका गाई पालेको छु । व्यावसायिक रूपमा काम गर्न सकियो भने राम्रो आम्दानी सम्भव छ', उनले भने । सहकारीमा दैनिक करिब ९५० लिटर दूध संकलन हुन्छ । किसानले प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य पाउँछन् । सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ । घिउ र छुर्पी उत्पादनको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । थामडाँडा सहकारीले दूध बिक्रीसँगै मूल्य अभिवृद्धि गरेर पनि आम्दानी बढाएको छ । मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन हुने गरेको छ । यी उत्पादन स्वदेशमा मात्र खपत होइन विदेश पनि निर्यात हुने गरेका छन् । सहकारीका सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापन गर्दै आएका छन् । अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्छ । सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको छ । सहकारीले उत्पादन बढाउन प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरेको छ । मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर पुग्नेले दुई बोरा र त्यसपछि प्रत्येक ३०० लिटरमा थप एक बोरा दिने व्यवस्था गरिएको छ । यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा बढाएको उपाध्यक्ष भोजकुमारी खनालले बताए । सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क पाएका थिए । साथै पशु सङ्ख्या बढाउन चाहने किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको छ । सहकारीको यात्रा २८ परिवारबाट सुरु भएको थियो । २०६७ सालमा औपचारिक दर्ता भएपछि हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार मात्र सक्रिय रूपमा दूध उत्पादनमा संलग्न छन् । सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ । हाल उत्पादन करिब ९५० लिटरमै सीमित भए पनि दैनिक एक हजार लिटर पु¥याउने लक्ष्य राखिएको अध्यक्ष दङ्गालीले बताए । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत सहकारीलाई व्यावसायिक योजना, तालिम, प्रविधि तथा बजार पहुँचमा सहयोग मिलेको छ । यो परियोजनाबाट ‘डिपफ्रिज’, छुर्पी सुकाउने भवन, ‘चेन पुली’ तथा ‘जेनेरेटर’जस्ता अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ भने किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने फाकफोकथुममा पशुपालन आर्थिक समृद्धिको आधार बनेको छ । 'कृषि र पशुपालनले रोजगारी सिर्जना गरेको छ र गाउँमै सम्मानजनक जीवनको आधार बनेको छ', उनले भने । रासस   

सहकारी संस्थाहरूलाई घर खाली गर्न महानगरको निर्देशन

  काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न कडा निर्देशन दिएको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले आधा दर्जन सहकारी संस्थालाई १५ दिनभित्र सम्पर्कमा आउन र बहालमा रहेका सम्पत्ति खाली गर्न निर्देशन दिएको हो । महानगरका अनुसार तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरू सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिएका घर-कोठा तथा फ्ल्याटहरू अनिवार्य रूपमा खाली गराइनेछ । खाली गराउँदा सहकारी संस्थाका कार्यालय सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा रहने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी-विरोध स्वीकार नगरिने स्पष्ट गरिएको छ । महानगरले यसअघि न्यायिक समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थाहरूलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो ।  महानगरका अनुसार सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था गरी विभिन्न संस्थाहरू समावेश छन् ।