समस्याग्रस्त शिवशिखर सहकारीको मार्ट र कार्यालयका सामान बिक्रीमा

काठमाडौं । समस्याग्रस्त सहकारी शिवशिखर बहुउद्देश्यीय संस्थाका जिन्सी सामान बिक्री गरिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको शिवशिखरका शाखा, कार्यालय तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने भएको हो । समितिका अनुसार शिवशिखरले सञ्चालन गरेको गार्डेन मार्टको बुटवल, रुपन्देही शाखामा रहेका व्यापारिक तथा कार्यालय प्रयोजनका जिन्सी सामग्री लिलाम बिक्री गरिनेछ । त्यस्तै, शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेडको लम्की, कैलाली शाखा र सिलगढी, डोटी शाखामा रहेका कार्यालय प्रयोजनका जिन्सी सामग्री लिलाम बिक्री गरिने समितिले जनाएको छ । नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य समितिबाट भइरहेको छ । सोही अनुसार समस्याग्रस्त संस्थाको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी कार्यविधि, २०८३ बमोजिम सम्पत्ति लिलाम बिक्री गरी फरफारक गरिने कार्यालयले जनाएको छ । उक्त जिन्सी सामान खरिद गर्न इच्छुकले १५ दिनभित्र निवेदन दिन भनिएको छ । 

सहकारीको ब्याज र लाभांशमा लगाम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीहरूले प्राथमिक पूँजी कोषको १५ गुणाभन्दा बढी बचत संकलन गरेमा वा सेयर पुँजीको १८ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।  काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूको वित्तीय अनुशासन कायम राख्न र बचतकर्ताको रकम सुरक्षित बनाउन ९ बुँदे निर्देशन जारी गर्दै यस्तो चेतावनी दिएको हो ।  महानगरपालिकाले जारी गरेको नयाँ व्यवस्था अनुसार तोकिएभन्दा बढी रकम सुरक्षण वा जमानत नराखी ऋण प्रवाह गरेमा, सञ्चालक, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेमा गम्भीर कसुर मानिनेछ ।  यसैगरी, ऋणको ब्याजलाई मूल सावाँमा पूँजीकृत गरी सोको आधारमा पुनः ब्याज लगाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । सहकारी संस्थाहरूले आफ्नो तोकिएको कार्यक्षेत्र बाहिर गएर कारोबार गरेमा, गैर–सदस्यसँग वित्तीय कारोबार गरेमा, कुनै पनि कम्पनीको सेयर खरिद गरेमा वा कृत्रिम व्यक्तिलाई सदस्यता दिएमा समेत कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।  वित्तीय सञ्चालन र सञ्चालक समितिको सुशासनतर्फ महानगरले बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड दर) अधिकतम ६ प्रतिशतभन्दा बढी गर्न नपाइने नियम तोकेको छ । सञ्चालक समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व अनिवार्य हुनुपर्नेछ भने एकाघर परिवारका सदस्य एकै अवधिमा सञ्चालक र लेखा समितिमा निर्वाचित हुन पाउने छैनन् ।  कुनै पनि संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा बैंक तथा संघ बाहेक अर्को संस्थाको सञ्चालक बन्न नपाउने र सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने स्पष्ट पारिएको छ ।  साथै, प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने र ३ महिनाभित्र इजाजतपत्र प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई साधारण सभाबाट अनुमोदन गराउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।  ऋण असुली र कानुनी कारबाहीका प्रक्रियालाई समेत महानगरले कडा बनाएको छ । भाका नाघेका ऋणीहरूको तमसुुक, नागरिकता र मोबाइल नम्बरसहित सञ्चालक समितिको निर्णयका आधारमा ऋण असुलीका लागि सिफारिस गर्न सकिनेछ ।  रकम अपचलन गर्ने वा तोकिएको समयभित्र सावाँ–ब्याज फिर्ता नगर्ने ऋणीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरिनुका साथै उनीहरूको बैंक खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री रोक्का गर्न सिफारिस गरिनेछ ।  यसका साथै, निर्वाचन नगरी समिति वा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी आफूखुसी परिवर्तन गरेमा, आवश्यक कागजात र विवरण नदिएमा वा ऐन–नियमको पालना नगरेमा महानगरपालिकाले कसुरको गाम्भीर्यताका आधारमा तीन लाख रुपैयाँसम्म जरिवाना गराउने चेतावनी दिएको छ । 

नाफामा सहकारी बैंक, पूँजी पर्याप्ततामा ऐतिहासिक फड्को

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै वित्तीय सुधारको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विशेषगरी बैंकको पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशतको सीमाभन्दा माथि पुग्दै ११.६६ प्रतिशत कायम भएको छ, जुन बैंकको वित्तीय स्थायित्व र जोखिम वहन क्षमतामा आएको उल्लेखनीय सुधारको सूचक हो । अघिल्लो त्रैमाससम्म ४.४२ प्रतिशतमा सीमित रहेको पूँजी पर्याप्तता अनुपात छोटो अवधिमै ११.६६ प्रतिशतमा पुग्नु बैंकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकले विगतका चुनौती पार गर्दै आफ्नो पूँजी आधार मजबुत बनाउने दिशामा उल्लेखनीय प्रगति गरेको देखाउँछ । वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालु वर्षमा नाफामा फर्कन सफल भएको हो। खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले बैंकको मुख्य व्यवसायिक गतिविधिमा सुधार आएको संकेत गर्दछ । बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ । वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ । विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ । चालु वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ । यद्यपि सञ्चित नोक्सानी पूर्ण रूपमा अन्त्य भइनसकेकाले आगामी अवधिमा समेत नाफामार्फत त्यसलाई थप घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बैंकले जनाएको छ । यद्यपि सबै सूचक सकारात्मक दिशातर्फ उन्मुख भए तापनि निष्क्रिय कर्जा अझै बैंकको प्रमुख चुनौतीको रूपमा रहेको छ । चौथो त्रैमाससम्म निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत रहेको छ, जुन बैंकिङ मापदण्ड अनुसार अझै उच्च मानिन्छ । यसले कर्जा असुली, जोखिम व्यवस्थापन तथा कर्जा गुणस्तर सुधारलाई आगामी दिनका प्रमुख कार्यसूची बनाउनु पर्ने संकेत गर्दछ । बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा सुशासनलाई संस्थागत रूपमा अझ बलियो बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पूँजी आधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे । हालको वित्तीय विवरणले राष्ट्रिय सहकारी बैंक सुधार र पुनर्संरचनाको चरण पार गर्दै स्थायित्वतर्फ अघि बढिरहेको संकेत गरेको छ । यद्यपि बैंकको दीर्घकालीन सफलताका लागि निष्क्रिय कर्जा नियन्त्रण, सञ्चित नोक्सानीको पूर्ण व्यवस्थापन तथा संस्थागत सुशासनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता भने कायमै रहेको देखिन्छ ।