काठमाडौं । समस्याग्रस्त सहकारी शिवशिखर बहुउद्देश्यीय संस्थाका जिन्सी सामान बिक्री गरिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको शिवशिखरका शाखा, कार्यालय तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने भएको हो ।
समितिका अनुसार शिवशिखरले सञ्चालन गरेको गार्डेन मार्टको बुटवल, रुपन्देही शाखामा रहेका व्यापारिक तथा कार्यालय प्रयोजनका जिन्सी सामग्री लिलाम बिक्री गरिनेछ ।
त्यस्तै, शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेडको लम्की, कैलाली शाखा र सिलगढी, डोटी शाखामा रहेका कार्यालय प्रयोजनका जिन्सी सामग्री लिलाम बिक्री गरिने समितिले जनाएको छ ।
नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य समितिबाट भइरहेको छ । सोही अनुसार समस्याग्रस्त संस्थाको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी कार्यविधि, २०८३ बमोजिम सम्पत्ति लिलाम बिक्री गरी फरफारक गरिने कार्यालयले जनाएको छ । उक्त जिन्सी सामान खरिद गर्न इच्छुकले १५ दिनभित्र निवेदन दिन भनिएको छ ।