सहकारीको ब्याजमा कैंची, १६ प्रतिशतबाट १३ प्रतिशतमा झारियो

काठमाडौं । सहकारी संस्थाले ऋणमा लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गरिएको छ । यसअघि सहकारी संस्थाका लागि सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएको थियो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम गठित समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेपछि सहकारी रजिष्ट्रारको कार्यालयले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर तोकेको हो । 

सहकारी रजिष्ट्रारको कार्यालयले तोकिएको अधिकतम सीमाभित्र रही सहकारी संस्थाले बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने जनाएको छ ।

सहकारी ऐन, २०७४ अनुसार तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रूपमा रहने कार्यालयले जनाएको छ । तोकिएको ब्याजदर कार्यान्वयन नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत कार्यालयले दिएको छ ।

Share News