प्रतिनिसिभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले बिहान ११ः०० बजे बस्दैछ । बैठकमा विभिन्न विधेयक एवं प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१/८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी बैठकको कार्यसूचीमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो अनुमतिपछि उनले सोही विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ माथि सदनमा छलफल गरियोस् भन्ने र त्यसपछि त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, मन्त्री यादवले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।    

कांग्रेस महामन्त्री पाैडेल भन्छन्- असफलता लुकाउन सरकार अराजकताको प्रायोजक बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र कांग्रेस सभापति गगन थापाको निवासअगाडि नियोजित रूपमा गाडी तेर्स्याएर प्रवेशमार्ग अवरुद्ध गरिएको घटना अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्ट रहेको बताएका छन् ।  सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतको सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने मागसमेत गरेका छन् । पार्किङकै विषयमा राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना हाम्रो सामु रहेको उल्लेख गर्दै पाैडेलले भनेका छन्, 'उक्त दुःखद घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा, 'ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ' भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ ।' मिडियाले राज्यका कमी-कमजोरी  औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा, राज्य आफै नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन यसरी सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग र विधिको शासनमाथिको भद्दा मजाक रहेको पाैडेलले बताएका छन् ।  'राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने हो; आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन', पाैडेलले भनेका छन्, 'स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन ।'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीएमा भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।  मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा. वाग्लेले नियुक्तिपत्र प्रदान गरे ।  नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।  सो अवसरमा बोल्दै नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे ।  स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन् । उनको यो नियुक्ति अवैतनिक हो ।