ऊर्जा मन्त्री विराज भक्त र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल-अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।  छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटवार्ता नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससहित सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

म स्टन्टबाजी होइन, देशको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई म आफ्नो देशको सेवा गर्न आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो दाबी गरेका हुन् । उनले भावुक हुँदै भने,  ‘जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’ उनले  गणेश नेपालीलाई बचाउन अथक प्रयास गरेको पनि बताएका छन् । ‘धेरै साथीभाइहरू देखेँ । घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो । तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन,’ उनले भने । गृहमन्त्री गुरुङले गोविन्द नेपालीको मृत्यु प्रकरणलाई लिएर विपक्षी सांसदहरूले राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाए । उनले दुःखद घटनालाई राजनीतिक लाभका लागि प्रयोग गर्नु उचित नहुने भन्दै संयमता अपनाउन आग्रहसमेत गरे । उनले भने, ‘मृत्युजस्तो संवेदनशील घटनामाथि राजनीति नगरौं । अनुसन्धानलाई प्रभावित पार्ने गरी भ्रम फैलाउने वा पूर्वाग्रही निष्कर्ष निकाल्ने काम कसैले गर्नु हुँदैन ।’ संसद्मा यस विषयलाई लिएर सत्ता पक्ष र विपक्षबीच आरोप–प्रत्यारोप समेत भएको थियो । विपक्षी सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग दोहोर्याएका थिए भने गृहमन्त्री गुरुङले सरकारले कानुनअनुसार प्रक्रिया अघि बढाइरहेको बताउँदै घटनालाई राजनीतिक रंग नदिन आग्रह गरेका छन् । गृहमन्त्री गुरुङ बोल्नुअघि भक्कानिएकासमेत थिए । 

नेपालमा लगानी गर्न युएई तयार, कृषि, रेलवे र आईटी क्षेत्र प्राथमिकतामा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालका कृषि, रेलवे, सूचना प्रविधि (आईटी) तथा हरित डाटा सेन्टरजस्ता रणनीतिक क्षेत्रमा ठूलो लगानी गर्न इच्छा व्यक्त गरेको छ । नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै युएईले नेपालमा लगानी विस्तारका लागि आवश्यक वातावरण निर्माण गरिदिन आग्रह गरेको हो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उच्चस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको थियो ।  भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सहकार्य अघि बढाउन चाहेको बताए । उनले कृषि परियोजनामा लगानीका लागि आवश्यक सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरे । युएईबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको रेलवे क्षेत्रमा पनि निजी क्षेत्रमार्फत लगानी गर्न चासो देखाएको छ । प्रतिनिधिमण्डलले यसका लागि आवश्यक कानुनी व्यवस्था, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राख्यो । त्यसैगरी, युएईले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि ठूलो सम्भावना देखेको छ । नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिँदै आवश्यक लगानी गर्न आफूहरू तयार रहेको युएई पक्षले जनाएको छ । बैठकमा नेपालमा उत्पादन हुने फलफूल, तरकारीलगायत कृषि उपजलाई युएई बजारमा निर्यात विस्तार गर्ने विषयमा पनि सहमति जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली कृषि उत्पादनको निर्यात सहज बनाउन खाद्य गुणस्तर परीक्षण, प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय मापदण्ड विकासमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न युएई सकारात्मक रहेको बताइएको छ । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल-युएई व्यापार मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रस्ताव राख्दै दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा लैजानुपर्नेमा जोड दिइन् । युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा थप ठोस छलफल गर्ने प्रतिबद्धता जनाएको छ । भेटका क्रममा मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको सकारात्मक पहलप्रति युएई सरकारलाई धन्यवाद पनि व्यक्त गरिन् ।