मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। सोमबार (आज) अपरान्ह साढे ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक  आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।  

कांग्रेस विभाजन रोक्न शेखर कोइरालाका पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजन रोक्न पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । १५औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै उनले क्रियाशील सदस्यता, केन्द्रीय कार्यसमिति र विभिन्न समितिको गठनबारे सहमतिमूलक ढंगले अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्न प्रस्ताव गरेका छन् । उनले १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरेका छन् । त्यस्तै, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउनुपर्ने उनको प्रस्ताव छ । उनले कार्यसम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्नुपर्ने माग पनि गरेका छन् । साथै निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायत अन्य समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्नुपर्ने प्रस्ताव डा. कोइरालाले अघि सारेका छन् । कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता विवाद र शक्ति सन्तुलनलाई लिएर विभिन्न समूहबीच मतभेद देखिइरहेका बेला कोइरालाको प्रस्तावलाई पार्टी एकता जोगाउने प्रयासका रूपमा हेरिएको नेताहरूले बताएका छन् ।

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन : अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर । नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए  । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए ।        बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए । समितिमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज रहने निर्णय भएको नेता भट्टले बताए ।        विसं २०७२ को भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गर्द आएकामा सचिवालय बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । सो पार्टीको केन्द्रीय कमिटीको बैठक आउँदो असार दोश्रो साता बस्ने तय भएको छ ।