१३ घरधनीलाई घरजग्गा तत्काल खाली गर्न निर्देशन

काठमाडौं । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा रहेको प्राचीन तिलौराकोट क्षेत्रभित्र अधिग्रहण गरिएका घर तथा जग्गा तत्काल खाली गर्न सम्बन्धितलाई निर्देशन दिएको छ । विभागले नेपाल सरकारको नाममा अधिग्रहण भइसकेका घर तथा जग्गा तत्काल खाली गरी विभागलाई बुझाउन सम्बन्धित घरधनीलाई आग्रह गरेको हो ।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को सम्भावित विश्व सम्पदा सूचीमा रहेको प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२/७३ देखि तिलौराकोट आसपासका घर तथा जग्गा क्रमशः अधिग्रहण गर्दै आएको विभागले जनाएको छ ।

विभागका अनुसार अनुसन्धानका क्रममा तिलौराकोट वरपरको जमिनमुनि पुरातात्त्विक महत्वका संरचना फेला परेकाले ती संरचनाको संरक्षण तथा थप अध्ययन-अनुसन्धानका लागि अधिग्रहण प्रक्रिया अघि बढाइएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस २४ गतेको निर्णयअनुसार अधिग्रहण गरिएका १३ घर तथा जग्गा पुरातत्व विभागको नाममा आइसकेकाले सम्बन्धित व्यक्तिलाई तत्काल खाली गर्न विभागले आग्रह गरेको हो । 

विभागले मुआब्जा बुझिसकेपछि पनि घर वा जग्गा खाली नगर्ने व्यक्तिको हकमा प्रचलित कानुनबमोजिम विभाग आफैंले खाली गराउने चेतावनी दिएको छ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च तथा अन्य दायित्व सम्बन्धित घरधनीबाटै असुल गरिने विभागले जनाएको छ । 

विभागका अनुसार गोबरी र मालपारा क्षेत्रका १३ जना घरधनीका घर तथा जग्गा अधिग्रहण गरिएको छ । केहीको घर मात्र र केहीको घरसहितको जग्गा अधिग्रहण गरिएको विभागले जनाएको छ ।

null

Share News