आलोचनाबाट डराउने सरकार लोकतन्त्रका लागि खतरनाक : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचनाबाट डराउन थालेको आरोप लगाएका छन् । 

उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भए पनि वर्तमान सरकार त्यसबाट विचलित हुन थालेको बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले सरकारमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्नेहरूलाई नै निशाना बनाउने प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् ।

‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्तालाई नै निशाना बनाउन खोज्छ,’ उनले लेखेका छन् ।

आङ्देम्बेले विभिन्न सञ्चारगृह, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा अन्य केही स्थान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई सरकारको असहिष्णु प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार गेटअगाडि सवारी राख्ने कार्य केवल आवतजावत अवरुद्ध गर्ने विषय नभई स्वतन्त्र प्रेस र प्रतिपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा आलोचनात्मक आवाजलाई तर्साउने प्रयास हो ।

‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै होइन, आलोचनात्मक आवाज थुन्ने प्रयास पनि हो । यो स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ’ भन्ने सन्देश दिन खोजिएको कार्य हो,’ उनले उल्लेख गरेका छन् ।

सञ्चारमाध्यम र प्रतिपक्ष लोकतन्त्रका अपरिहार्य अंग भएको उल्लेख गर्दै उनले उनीहरूलाई सरकारको शत्रुका रूपमा हेर्न नहुने बताएका छन् ।

‘सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु होइनन्, उनीहरू जनतासामु राज्यका गतिविधि देखाउने ऐना हुन् । ऐना फुटाउँदैमा अनुहार सुन्दर देखिँदैन,’ आङ्देम्बेको भनाइ छ ।

सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी, मुगुका गणेश नेपालीको मृत्यु तथा सर्लाहीका विवेक मण्डलको आत्मदाहजस्ता विषय उठाउँदै उनले जनताका यस्ता पीडाका बारेमा प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्षको आवाज दबाएर समस्याको समाधान नहुने पनि बताएका छन् ।

‘गाडीले गेट छेक्न सकिएला, तर जनताको आवाज छेक्न सकिँदैन। इतिहासले देखाएको छ– गेट बन्द गर्न सकिए पनि प्रश्नको बाटो बन्द गर्न सकिँदैन,’ उनले लेखेका छन् ।

गत सोमबार अज्ञात व्यक्तिहरूले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेस सभापति गगन थापाको निवास तथा भाटभटेनी सुपरमार्केट अगाडि सवारीसाधन पार्क गरेका थिए । 

उक्त घटनापछि त्यसको उद्देश्यलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् ।

Share News