नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोइराला

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् ।

शुक्रवारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा डा. कोइरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे ।

वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे । 

वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाएको सूक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोइरालाले बताए । 

उनले भेन, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लण्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ ।’

देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने उनले विश्वास व्यक्त गरे । 

देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचनासमेत गरे ।

उनले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।

Share News