‘विद्यार्थीलाई ढाल बनाएर सत्तामा पुग्ने राजनीति भयो, उद्धार माग्नु राजनीतिकरण होइन’ : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि जेनजी आन्दोलनलाई राजनीतिक रूपमा उपयोग गरेर राज्यसत्तामा पुगेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछिको मृत्यु तथा कर्णालीमा उद्धार अभावका विषय उठाउँदा सरकारले त्यसलाई राजनीतिकरणको संज्ञा दिएको भन्दै आपत्ति जनाए ।

उनले जनताको ज्यान जोगाउन सरकारसँग प्रश्न उठाउनु राजनीतिकरण नभई सरकार स्वयंले आन्दोलन र जनभावनालाई सत्तामा पुग्ने माध्यम बनाएको दाबी गरे ।

‘मानिसले आत्महत्या किन गर्नुपर्यो? कर्णालीका भिरमा अड्किएका नागरिकको समयमै उद्धार किन भएन ? हेलिकोप्टर किन पठाइएन ? यस्ता प्रश्न उठाउँदा गृहमन्त्रीले राजनीतिकरण भयो भन्नुहुन्छ,’ शाहीले भने, ‘वास्तविक राजनीतिकरण भनेको आफू पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधि हो। भिरमा अड्केका मानिसको उद्धार गर भन्नु राजनीतिकरण होइन ।’

शाहीले गृहमन्त्रीले जेनजी आन्दोलनका क्रममा आफू पानी वितरण गर्न मात्र गएको बताएका प्रसंग स्मरण गराउँदै त्यसबेला विद्यार्थीलाई आन्दोलनको अगाडि उभ्याइएको आरोप लगाए ।

उनले अघिल्लो समयमा संसदको विरोध गर्नेहरू अहिले त्यही संसदबाट निर्वाचित भएर आएको भन्दै त्यसलाई पनि राजनीतिकरणको उदाहरणका रूपमा प्रस्तुत गरे ।

‘संसद भवन चाहिँदैन भनेर आगो लगाउनेहरू पछि त्यही संसदको चुनाव लड्न आउँछन् । आफू पदमा नहुँदा नेताको तलब, गाडी र सुरक्षाकर्मी हटाउनुपर्छ भन्ने, तर पदमा पुगेपछि सुरक्षाकर्मीको लावालस्करसहित हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।

शाहीले प्रतिपक्षी नेताका घर तथा सञ्चारमाध्यमका कार्यालयअगाडि सवारी साधन पार्किङ गराएर त्यसलाई सर्वसाधारणको गतिविधि जस्तो देखाउने प्रयास भएको आरोप पनि लगाए ।

उनले कर्णाली क्षेत्रमा भिरमा अड्किएका नागरिकको उद्धार गर्न माग गर्दा सरकारले ‘डनगिरी’ शैलीमा व्यवहार गरेको टिप्पणी गर्दै पछि संसदको रोस्ट्रममा उभिएर भावुकता प्रदर्शन गर्नु ‘नाटक भएको आरोप लगाए ।

Share News