काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र अनुशासन, आचरण र नेताकार्यकर्ताको जीवनशैलीमा देखिएको विचलनलाई गम्भीर समस्याका रूपमा औंल्याएका छन् ।
उनले पार्टीभित्र बढ्दै गएको यस्तो प्रवृत्तिले कार्यकर्तामा चिन्ता बढाएको उल्लेख गर्दै संगठनको शुद्धीकरण अभियानलाई अब व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
बुधबार काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक कार्यपत्रमार्फत पोखरेलले पार्टीको आन्तरिक जीवनमा देखिएका कमजोरीप्रति ध्यानाकर्षण गराएका हुन् ।
उनले पार्टीको जनविश्वास कायम राख्न र संगठनलाई थप सुदृढ बनाउन कम्युनिस्ट आचरण तथा अनुशासनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।
पोखरेलले दशौं राष्ट्रिय महाधिवेशनपछि नै पार्टी शुद्धीकरणको विषयलाई एजेन्डाका रूपमा अघि सारेर छलफल गरिएको भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको स्वीकार गरेका छन् ।
उनको कार्यपत्रमा पार्टीभित्र देखिएका अनुशासनहीनता, जीवनशैली र आचरणसम्बन्धी समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा समस्या थपिँदै गएको उल्लेख छ ।
‘पार्टीप्रतिको जनविश्वास जोगाउन, सङ्गठनलाई सुदृढ बनाउन र कम्युनिस्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौं महाधिवेशनपश्चात् एजेन्डा बनाएर नै छलफलसमेत गरिएको थियो,’ कार्यपत्रमा भनिएको छ, ‘तर त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरूप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ ।’
महासचिव पोखरेलले पार्टीभित्रका कमजोरी पहिचान गरेर सुधारको प्रक्रिया अघि बढाउनुपर्ने सन्देश दिएका छन् ।
राष्ट्रिय भेलामा प्रस्तुत कार्यपत्रले एमालेको संगठनात्मक अवस्था, नेताकार्यकर्ताको आचरण र आगामी राजनीतिक चुनौतीसँगै स्थानीय निर्वाचनको तयारीलाई समेत शुद्धीकरण तथा सुदृढीकरणसँग जोडेको छ ।