काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाब आएपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण गराउँदै कानुनी दायराबाहिरका पक्राउ र ‘ह्यारेसमेण्ट’ तुरुन्त बन्द गर्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई धरपकड गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको टिप्पणी गरिएको छ ।
विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि धाबा बोलिएका घटना स्मरण गराउँदै कांग्रेसले आज पुनः तिनै निरङ्कुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको बताएको छ ।
स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति लड्दै आएको स्पष्ट पार्दै कांग्रेसले यस्ता स्वेच्छाचारी कदमविरुद्ध अनवरत उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा उल्लेख गर्दै विज्ञप्तिमा कुनै सञ्चार माध्यम वा पत्रकारबाट त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिलजस्ता कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान रहेको स्मरण गराइएको छ ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु ‘कानुनको शासन’लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु रहेको भन्दै कांग्रेसले यस दमनकारी कदमको कडा शब्दमा भत्र्सना गरेको छ ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदमहरू तत्काल सच्याउन सरकारसँग जोडदार माग गरेको छ ।