अर्थतन्त्रमा गगन थापाले देखेको समस्या

अर्थतन्त्र सुधार्न त्रास होइन, विश्वासको वातावरण बनाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सभापति थापाले अर्थतन्त्र सुधार्न सरकारले त्रास नभई विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । 

उनले सरकारका नीति तथा निर्णय अनुमानयोग्य नहुँदा निजी क्षेत्रदेखि राज्यका विभिन्न निकायसम्म त्रसित बनेको टिप्पणी गरेका छन् । थापाले अहिले मुलुकको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र रहेको बताए । 

अर्थतन्त्रमा देखिएका समस्या नयाँ नभए पनि सरकार परिवर्तनपछि त्यसमा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।

‘म फागुन २१ अघि पनि मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा थियो भन्न पनि सक्दिनँ, थोरै राम्रो र धेरै नराम्रो थियो । त्यही असन्तुष्टि र समस्याका बीच नयाँ सरकार बनेको हो,’ त्यसैले सरकारले काम गर्नुपर्छ ।’

उनले मुलुकको अर्थतन्त्रमा कर्जा विस्तार हुन नसकेको, लगानीको वातावरण बन्न नसकेको र बाह्य लगानीसमेत भित्रिन नसकेको बताए । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्नु र निजी क्षेत्रले नयाँ लगानीका योजना अघि बढाउन नसक्नु अर्थतन्त्रका लागि चुनौती भएको उनको भनाइ छ ।

‘कर्जा विस्तार भएन । लगानी विस्तार भएन । बाहिरबाट नयाँ लगानी एक पैसा पनि आएको छैन,’ थापाले भने ।

उनले विश्व बैंकको प्रतिवेदनलाई समेत उद्धृत गर्दै कर्जा असुलीमा समस्या रहेको बताए । कर्जा प्रवाह र असुलीमा देखिएका समस्या, कमजोर विकास खर्च तथा प्राकृतिक विपत्तिका कारण सरकारी वित्त व्यवस्थापनमा दबाब बढिरहेको उनको टिप्पणी थियो ।

विकास निर्माणका काममा सरकारी खर्च अपेक्षित रूपमा हुन नसकेको अवस्थामा प्राकृतिक विपत्तिले थप आर्थिक भार सिर्जना गरेको उनले बताए । यसले राष्ट्रिय ढुकुटीमाथि दबाब बढाएको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले आर्थिक गतिविधि विस्तार हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

थापाले अर्थतन्त्रमा देखिएको अहिलेको समस्याको जड विश्वासको संकट भएको बताए । उनका अनुसार सरकारका नीति, निर्णय र कार्यशैलीबारे निजी क्षेत्र तथा राज्यका विभिन्न निकायमा स्पष्टता नहुँदा आर्थिक गतिविधि प्रभावित भएका छन् । लगानीकर्ताले भविष्यमा कस्तो नीति आउँछ भन्ने अनुमान गर्न नसक्ने अवस्था बनेमा लगानी विस्तार हुन नसक्ने उनको तर्क छ ।

‘समस्या भनेकै विश्वासको संकट हो । सरकारको नीति अनुमानयोग्य छैन । सबै थुरथुर छन् । व्यवसायी, प्रहरी, निजामती कर्मचारी, अदालत र संवैधानिक आयोगहरू सबै थुरथुर छन्,’ उनले भने ।

उनले सरकारको कार्यशैलीका कारण व्यवसायी र लगानीकर्तामा मात्र नभई राज्य सञ्चालनमा संलग्न निकायहरूमै त्रासको वातावरण बनेको टिप्पणी गरे । सरकारका निर्णय र गतिविधिबारे अनिश्चितता रहँदा कर्मचारीतन्त्रले जोखिम लिन नचाहने, निजी क्षेत्रले लगानी गर्न हिचकिचाउने र आर्थिक गतिविधि थप सुस्त हुने उनको आशय थियो ।

थापाले अर्थतन्त्र सुधारको नाममा त्रास सिर्जना गर्ने, दबाब दिने वा अनिश्चितता बढाउने कामले आर्थिक गतिविधि विस्तार हुन नसक्ने बताए । व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गर्ने, नीतिगत स्थिरता कायम गर्ने र राज्यका निकायलाई जिम्मेवारीपूर्वक काम गर्न सक्ने वातावरण दिनुपर्ने उनको धारणा छ ।

‘शिथिल भएको अर्थतन्त्र सुधार गर्न त्रर्साएर होइन, विश्वास दिसक्नुपर्छ,’ उनले सरकारलाई आग्रह गर्दै भने ।

सरकारको ध्यान लाइक र कमेन्टमा 

थापाले सरकारको प्राथमिकतामाथि पनि प्रश्न उठाए । सरकार सामाजिक सञ्जालमा लाइक र कमेन्ट प्राप्त गर्ने विषयमा बढी केन्द्रित भएको टिप्पणी गर्दै उनले जनताले भोगिरहेका वास्तविक समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार सरकारको लोकप्रियता सामाजिक सञ्जालमा प्राप्त हुने प्रतिक्रिया वा प्रचारबाट मात्रै मापन हुँदैन । अर्थतन्त्रको अवस्था सुधार, लगानी विस्तार, रोजगारी सिर्जना र नागरिकमा विश्वास कायम गर्न सक्नु सरकारको मुख्य जिम्मेवारी हो ।

उनले सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकार तथा सञ्चारकर्मीमाथि धरपकड गर्ने गतिविधिप्रति पनि आपत्ति जनाए । प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको व्यावसायिक काममा हस्तक्षेप हुने गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘लाइक र कमेन्टमा सरकार व्यस्त छ । प्रेसको अफिसमा पुगेर धरपकड गर्ने काम स्वीकार्य छैन,’ उनले भने ।

उनले प्रेसमाथिको हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिन नसकिने संकेत गर्दै सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे । लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन र आलोचना गर्न पाउनुपर्ने उनको धारणाको आशय थियो ।

सरकारसँग प्रतिवाद र सहकार्य दुवै गर्न तयार

थापाले सरकारका गलत गतिविधिमा खबरदारी गर्ने र आवश्यक परे प्रतिवाद गर्ने बताए । तर, सरकारसँग संवाद र सहकार्यको ढोका बन्द नगरेको पनि उनले स्पष्ट पारे ।

सरकारले सबै पक्षसँग संवाद गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सरकार एकपक्षीय ढंगले चल्न नहुने बताए । सरकारका निर्णय र कार्यशैलीबारे असहमति भए त्यसलाई संवादमार्फत राख्ने र आवश्यक परे विरोध गर्ने कांग्रेसको नीति रहेको उनको भनाइ थियो ।

‘खबरदारी गर्छौं । सरकार मौनमौजीमा चलेको स्वीकार्य छैन । सरकारसँग पनि कुरा गर्छौं । आँखामा आँखा जुधाएर कुरा गर्न तयार छौं । प्रतिवाद र सहकार्य गर्न पनि तयार छौं,’ उनले भने ।

उनले सरकारलाई समर्थन वा विरोधको एउटै कित्तामा सीमित भएर हेर्न नहुने संकेत गर्दै मुलुकको हितमा हुने काममा सहकार्य र गलत काममा प्रतिवाद गर्ने बताए । सरकारका राम्रा काममा सहयोग गर्न र गलत निर्णयमा प्रश्न उठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ ।

थापाले विभिन्न राजनीतिक दल, सरकार र नयाँ पुस्तासँग समेत संवाद गर्न चाहेको बताए । मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक चुनौती समाधानका लागि राजनीतिक दलहरूबीच संवाद आवश्यक रहेको उनको भनाइ छ ।

नयाँ पुस्ताको अपेक्षा, राजनीतिक दलहरूको भूमिका र सरकारको कार्यशैलीबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै उनले सबै पक्षसँग संवाद गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

Share News