प्रेस हस्तक्षेपको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन, न्यायालय शुद्धीकरणको मुद्दा संसद्‌मा लग्ने

महामन्त्रीको नेतृत्वमा टोली चीन जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले सञ्चारगृहमा भएको प्रहरी हस्तक्षेप, न्यायपालिकासम्बन्धी विवाद, मधेस प्रदेशको संगठन सुदृढीकरण तथा चीन भ्रमणलगायतका विषयमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्टीले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै २०८३ कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत सञ्चार क्षेत्रमा भएका गतिविधिहरू संविधान र दलको आदर्शविपरीत रहेको ठहर गरेको छ ।  सो घटनामा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न रास्वपाले सरकारलाई निर्देशन दिएको छ ।

यस्तै, कतिपय न्यायाधीशहरूसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाहरूले न्यायपालिकाको निष्पक्षता र गरिमामाथि प्रश्न उठाएको भन्दै बैठकले न्यायालयको शुद्धीकरणका लागि संसद्बाटै निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशित गरेको छ ।

यसैगरी, मधेस प्रदेशमा पार्टी संगठनलाई सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले पेस गरेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ का सिफारिसहरूलाई आवश्यकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

साथै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कात्तिक अन्तिम साता चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको छ ।

Share News