शान्ति–सुरक्षा र सामाजिक सद्भावमा सुरक्षा परिषद्को विशेष जोड
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार (आज) राष्ट्रिय सुरक्षा परिषद्को ४३औं बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । परिषद्का अनुसार बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको थियो । राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट उक्त क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको विषयमा परिषद्लाई ब्रिफिङ गरिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने गरी कार्यसम्पादन गरिने उल्लेख गरिएको छ । त्यसैगरी, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय अझ सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको परिषद्ले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्यसचिव गोविन्द कार्की, प्रधानसेनापति अशोक सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा सहभागी थिए ।
सार्वजनिक बिदामा पनि राहदानी सेवा, विभागले खुलायो आवेदन फाराम
काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने भएको छ । विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्दै साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जनाएको छ । बिहीबार सूचना जारी गर्दै विभागले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाका दिन पनि आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको हो । विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन पाउने म्याद थप गरेपछि राहदानी बनाउन चाहनेको संख्या बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै थप आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ । विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई राहदानी सेवा लिन पनि अनुरोध गरेको छ ।
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू
काठमाडौं । सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको हो ।