काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने भएको छ । विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्दै साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जनाएको छ ।
बिहीबार सूचना जारी गर्दै विभागले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाका दिन पनि आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।
विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन पाउने म्याद थप गरेपछि राहदानी बनाउन चाहनेको संख्या बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै थप आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ ।
विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई राहदानी सेवा लिन पनि अनुरोध गरेको छ ।