प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन्द्र)ले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन । सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए ।  गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ । 

गृहमन्त्री गुरुङ आज सुनसरी जाँदै, मृतक परिवारसँग भेट्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नेछन् । भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ । गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सुनसरी–मधेश तनावमा राष्ट्रपतिको अपिल : सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा विकसित भएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । बिहीबार जारी गरेको विशेष अपिलमा राष्ट्रपति पौडेलले नेपालको पहिचान नै सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता भएको उल्लेख गर्दै यही परम्परालाई जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । उनले राजनीतिक दल, नागरिक समाज, समुदायका अगुवा तथा सम्पूर्ण नेपालीलाई शान्ति, अमनचयन र सुव्यवस्था कायम राख्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच आपसी विश्वास, मित्रता, सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । साथै उत्पन्न अवस्थालाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण पुनःस्थापित गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास पनि व्यक्त गरेका छन् । अपिलमार्फत राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने बताएका छन् ।