तराईको सद्भाव बिगार्ने गतिविधि रोक्न पूर्वराजा ज्ञानेन्द्रको अपिल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसको प्रभाव तराईका विभिन्न क्षेत्रमा फैलिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालीबीच सद्भाव, एकता र मेलमिलाप कायम राख्न सबैलाई आग्रह गरेका छन् । बिहीबार (आज) सद्भाव सन्देश जारी गर्दै उनले नेपाल निर्माणकालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरू आपसी प्रेम, सद्भाव र सहअस्तित्वका साथ बस्दै आएको उल्लेख गरेका छन् । यही बहुजातीय, बहुभाषिक, धार्मिक तथा सांस्कृतिक विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको भन्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ । पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका अन्य भागसम्म फैलिनु दुःखद रहेको बताएका छन् । समाजका सबै समुदायबीच सद्भाव कायम रहेको नेपालमा यस्ता अप्रिय घटना हुनु चिन्ताको विषय भएको उनको धारणा छ । उनले यस्ता गतिविधि नेपालको मौलिक मूल्य, मान्यता र सामाजिक सहिष्णुताविपरीत रहेको उल्लेख गर्दै जुनसुकै भूभागमा बसे पनि सबै नेपालीबीच आपसी भाइचारा, मेलमिलाप र सहिष्णुता कायम राख्न आग्रहसमेत गरेका छन्। उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई संयमता अपनाउन आह्वान गरेका छन् ।
लघुवित्त पीडितसँग पहिलो चरणको वार्ता सकारात्मक, शुक्रबार फेरि छलफल
काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार (आज) भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । दुवै पक्षबीच विभिन्न माग र त्यसको सम्बोधनका उपायबारे छलफल भएपछि वार्तालाई निष्कर्षमा पुर्याउन शुक्रबार पुनः बस्ने सहमतिसहित आजको बैठक स्थगित गरिएको हो । वार्ताका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । समितिलाई गठनसँगै आन्दोलनरत लघुवित्त पीडितसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिइएको थियो । समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् । अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन् । समिति गठनलगत्तै अर्थ मन्त्रालयमा वार्ता सुरु भएको थियो । पहिलो चरणको छलफल सकारात्मक बनेपछि दुवै पक्षले बाँकी विषयमा सहमति जुटाउने उद्देश्यले शुक्रबार पुनः वार्ता गर्ने सहमति गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै, आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे । वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन् । कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहेकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो । बुधवार मात्रै संसदीय सुनुवाइ समितिले तीन जनाकै नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।