काठमाडौं । प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस)को अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणीसमेत गरे । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाए ।
मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अहिले समस्यालाई शिथिलमात्र बनाएको तर सम्बोधन नगरिएको जिकिर गर्दै समस्याको शिथिलीकरण समाधान नभएको दाबी गरे ।
राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हार्यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तर्घात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिरसमेत गरे । अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझेपनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए ।
विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै खनालले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए । हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारीसमेत दिए ।
प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तबमात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थरमात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिनसक्ने चेतावनीसमेत दिए ।